
काठमाडौं ।
जेफ बेजोसले नासाको चन्द्रयान बनाउने ठेक्का आफूले पाएको खण्डमा चन्द्रमामा जान लाग्नेमध्ये २ अर्ब डलर आफूले हालिदिने प्रस्ताव गरेका छन्।
गत अप्रिलमा नासाले चन्द्रयान बनाउने ठेक्का बेजोसको ब्लू ओरिजिनलाई लत्याउँदै २ अर्ब ९० करोड डलरमा इलन मस्कलाई दिएको थियो।
यो ठेक्का सन् २०२४ मा चन्द्रमामा अन्तरिक्ष यात्रीहरुलाई लैजान चन्द्रयान बनाउनका लागि थियो।
नासाले बजेटका हिसाबले यो ठेक्का एउटा कम्पनीलाई मात्र दिन सक्थ्यो। नासाले कंग्रेसबाट यस मिशनका लागि लाग्ने ३ अर्ब ३० करोडमध्ये ८५ करोड डलरमात्र पाएको थियो।
गत सोमबार नासाका प्रशासक बिल नेल्सनको नाउँमा लेखिएको एक चिठीमा जेफ बेजोसले लेखेका थिए, ‘ब्लू ओरिजिनले ह्युमन ल्यान्डिङ सिस्टम’ मा नपुग रकम मिलान गर्न यो पटक र आउँदा दुई आर्थिक वर्षमा कुनै पारिश्रमिक नलिइ काम गर्नेछ।
यो कुनै नभएर भुक्तानी पुरै मिनाहा भएको उक्त चिठीमा उल्लेख छ।
नासाका ह्युमन एक्सप्लोरेशन प्रमुख क्याथी लुएडर्सले संस्थाको बजेटका कारण दुई ओटा कम्पनी छान्न नसकेको स्विकार गरे।
यसबाहेक नासाले स्पेस एक्सको अन्तरिक्ष अनुभवका हिसाबले उसलाई ठेक्का दिइएको पनि प्रस्ट्याए।
बेजोसले यस ठेक्काका लागि अरु दुई तीन जनासँग मिलेर ब्लू मून नामक डिजाइन पनि तयार पारेका थिए। यो झट्ट हेर्दा सन् १९६९ मा निल आर्मस्ट्रङ र बज एल्ड्रिनलाई चन्द्रमामा पुर्याउने चन्द्रयान जस्तै देखिन्थ्यो।
चिठीमा उनले ब्लू मूनको बखान गरेका थिए। उनले यसमा प्रयोग भएको हाइड्रोजन इन्धनलाई जोड दिएका थिए किन कि नासाले चन्द्रमामा उत्खनन गरेर निस्किएको हिउँ मिसिएको पानीलाई भविष्यमा रकेट इन्धनका रुपमा प्रयोग गर्ने योजना बनाएको थियो।
तर यसको ठेक्का स्पेसएक्ले पाएपछि उनले नासाले अन्तिम समयमा जालसाजी गरेर स्पेसएक्सलाई ठेक्का दिएको भन्दै मुद्दा हालेका थिए। अदालतबाट यसको अन्तिम छिनोफानो हुन बाँकी नै छ।
प्रकाशित: १३ श्रावण २०७८, बुधबार