बागमती प्रदेशमा चालु आवदेखि बढ्यो इलेक्ट्रीक स्कुटरको वार्षिक कर, कारमा भने पुरानै दर

  • Technology Khabar | ३ श्रावण २०७८, आईतवार

काठमाडौं ।

बागमती प्रदेश सरकारले विद्युतीय मोटरसाइकल तथा कारमा लाग्ने वार्षिक राजस्वको दरमा वृद्धि गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने कर वृद्धि गरेकोमा साउन १ गतेदेखि नयाँ दर लागू भएको हो।

नयाँ करअनुसार ३५० वाटदेखि १,००० वाटसम्म मोटर क्षमता रहेका स्कुटर तथा मोटरसाइकलको कर ५०० रुपैयाँले वृद्धि गरेको हो । अघिल्लो वर्ष यस्ता साधनले १ हजार ५०० रुपैयाँ वार्षिक कर तिर्नु पर्ने थियो । तर, चालु आवदेखि यसलाई बढाएर २ हजार रुपैयाँ बनाइएको छ।

त्यसैगरि १ हजार वाटदेखि १ हजार ५०० वाटसम्मका साधनमा पनि ५०० रुपैयाँले वृद्धि गरिएको छ। अघिल्लो आर्थिक वर्षमा २ हजार रुपैयाँ वार्षिक कर रहेकोमा चालु आवमा २ हजार ५०० रुपैयाँ बनाइएको छ । १५०० वाटभन्दा माथि क्षमता भएका मोटरसाइकल तथा स्कुटरको दर भने ३ हजार कायम गरिएको छ। यसमा कुनै परिवर्तन गरिएको छैन् ।

दुई पाँग्रे इलेक्ट्रीक भेहिकलमा राजस्व बढाए पनि बागमती प्रदेश सरकारले विद्युतीय कारमा लाग्ने वार्षिक करमा भने परिवर्तन गरेको छैन् ।

प्रदेशले चालु आवमा इलेक्ट्रीक कार, जीप, भ्यान र माइक्रोबस प्रयोग गर्नेहरुले ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका सवारी साधन राखे वापत वार्षिक १५ हजार, १२६ किलोवाटदेखि २२५ किलोवाटसम्मलाई २० हजार र २२६ किलोवाट माथि क्षमतका मोटर जडान भएका गाडीलाई ३० हजार वार्षिक कर असुल गर्ने भएको छ ।

प्रकाशित: ३ श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया