Technology Khabar ३१ असार २०७८, बिहीबार
काठमाडौं ।
नेपाल टेलिकमको सर्भरमा ह्याकरको आक्रमण नभएको कम्पनीले जानकारी दिएको छ ।
केहि दिनअघि ह्याकरले डार्क वेबमा कम्पनीका डाटाहरु ह्याक गरेर राखेको भन्ने समाचारहरु प्रकाशित भएकोमा हाल कम्पनीले ह्याक नभएको बताएको हो ।
त्यसैगरि टेलिकमले ग्राहकहरुको सम्पूर्ण डाटा सुरक्षित रहेको समेत जानकारी दिएको हो ।
नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो।
कम्पनीले यसको लागि आन्तरिकरुपमा छानबिन समिति गठन गरेर अध्ययन अनुसन्धान गराएको थियो। सोही समितिको अध्ययन अनुसन्धानको निष्कर्षको आधारमा कुनै आक्रमण नभएको दाबी गरिएको हो ।*
‘कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको वास्तविकता ग्राहकवर्गमा जानकारी गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको छ र आगामी दिनमा समेत ग्राहकका विवरणहरु सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।
यो पनि हेर्नुस्-
चिनियाँ ह्याकर समूहद्वारा टेलिकमको सर्भर ह्याक, डार्क वेबमा डाटा बिक्रीका लागि राखियो
* सच्याईएको- यसअघि प्रतिभा बैद्यको नेतृत्वमा छानबिन समिति गठन गरिएको भन्ने विषयलाई फरक प्रशंगमा परेको हुँदा सच्याईएको छ । सम्पादक
प्रकाशित: ३१ असार २०७८, बिहीबार