
काठमाडौं ।
फेसबुकले अमेजनसँग सम्झौता गर्दै आफ्ना वायरलेस इन्टरनेट विशेषज्ञहरूको टोली अमेजनको प्रोजेक्ट कुइपरमा सामेल गराएको छ ।यसको अर्थ सामाजिक मीडिया जायन्ट कम्पनीको इन्टरनेट टिमलाई अमेजनले अधिग्रहण गरेको छ ।
अमेजनले आफ्नो अर्बौं डलरको परियोजना प्रोजेक्ट कुइपरलाई तिब्रता दिन र हजारौं स्याटेलाइट लन्च गरेर ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउन सो टिमलाई समाहित गरेको बताईएको छ ।
कम्पनीहरूले सम्झौताका सर्तहरू खुलासा गरिरहेका छैनन् ।
लस एंजल्समा आधारित दर्जनौं दक्ष र विज्ञ कर्मचारीहरुको टिमले अब अमेजनको लागि काम गर्नेछ । यो कदमले फेसबुकद्धारा ग्रामीण भेगमा इन्टरनेट सेवा उपलब्ध गराउने आफ्नो योजना समाप्त भएको बताईएको छ ।
फेसबुकका एक प्रवक्ताले जेडिनेटसँग सो अधिग्रहणको पुष्टि गरेका छन् । “हामीलाई विश्वास छ कि स्याटेलाइट टेक्नोलोजीले ब्रोडब्यान्ड पूर्वाधारको अर्को पुस्तालाई सक्षम गर्दछ । र हाम्रो कनेक्टिभिटी प्रयासहरूको अंशको रूपमा, हामीले अप्टिकल संचार र रेडियो फ्रिक्वेन्सी प्रणालीहरू र समाधानहरूको प्रयोग गरेर स्याटेलाइट जडानलाई अगाडि बढाउन नयाँ तरिकाहरू डिजाइन गर्ने र परीक्षण गर्न एउटा अविश्वसनीय टिम निर्माण गरेका छौं।” फेसबुक प्रवक्ताले भने।
प्रोजेक्ट कुइपरमा थप कर्मचारीहरू ल्याउँदा अमेजनले लो अर्थ अर्बिट अर्थात पृथ्वीको तल्लो कक्षमा ३२३६ वटा स्याटेलाइट कनस्टलेसन स्थापना गर्ने आफ्नो योजनालाई मद्दत पुर्याउनेछ ।
सन् २०१९ देखि योजना निर्माणमा रहेको भएपनि अमेजनको सो कम्पनीले गत जुलाईमा मात्र अमेरिकी संघीय संचार आयोगबाट स्वीकृति प्राप्त गर्यो। अमेजनले परियोजनामा १० अर्ब डलर लगानी गर्ने योजना गरिरहेको छ ।
गत बर्षको अन्त्यमा, अमेजनले आफ्नो प्रोजेक्ट कुइपर अन्तिम प्रयोगकर्ता टर्मिनल डिजाइनको खुलासा गरेको थियो जसलाई कम्पनीले “परम्पराग एन्टेना डिजाइनहरू भन्दा सानो र हल्का”भएको दाबी गरेको थियो ।
प्रकाशित: ३१ असार २०७८, बिहीबार