काठमाडौं ।
एचएमडी ग्लोबलका प्रडक्ट म्यानेजरले हालै आगामी नोभेम्बर ११ मा नोकियाको फ्ल्यागशिप फोन सार्वजनिक गरिने बताएका छन्।
एचएमडी ग्लोबलले नोकियाको फ्ल्यागशिप सम्बन्धमा निकै अप्ठेरो परिस्थितिको सामना गर्दै आइरहेकामा अब भने एउटा फ्ल्यागशिप फोन आउने पक्का भएको हो।
नोकिया ९ प्योरभ्यू पछि यसले बजारमा प्रभाव देखाउन सकेको छैन। केही समयअघि
प्योरभ्यूकै ९.१, ९.२, ९.३ गर्दै अपग्रेडहरु आउने चर्चा चले पनि आउन सकेका छैनन्।
यसैबीच आईटीहोमको एउटा रिपोर्टमा एचएमडीले एउटा फाइभजी फ्ल्यागशिप फोनमा काम गरिरहेको र आगामी नोभेम्बर ११ का दिन चीनमा सार्वजनिक गरिने बताइएको छ।
यो दिनलाई चीनमा सिंगल्स डे का रुपमा मनाइन्छ भने देशैभरी ठूला शपिङ इभेन्टहरु हुन्छन्। यो कुरालाई एचएमडी ग्लोबलका चीनका लागि प्रडक्ट म्यानेजर झाङ युचेङले पुष्टि गरेका छन्।
उनले आउन लागेको डिभाइसको विवरणका बारेमा धेरै कुरा नबताए पनि उक्त फोन प्योरभ्यूको ९.३ भर्सन नहुने आकलन गरिएको छ।
बरु यो एक्स सिरिजको एक्स५० हुन सक्ने जसमा १०८ मेगापिक्सेलको क्यामरा तथा स्न्यापड्रागन ७७५ चिपसेट रहने अनुमान गरिएको छ। यसको डिस्प्ले १२० हर्जको रिफ्रेश रेट सहितको १४४० पिक्सेलको ६.५ इन्च साइज रहने पनि बताइएको छ।
६००० एमएएच क्षमताको ब्याट्रीसहित आउने यो फोन एचएमडी ग्लोबलको हालसम्मकै सबैभन्दा शक्तिशाली र एक्स१० वा एक्स२० भन्दा उच्च स्तरको डिभाइस हुने आकलन गरिएको छ।
प्रकाशित: २२ असार २०७८, मंगलवार