काठमाडौं ।
सोनीको एक्सपेरिया वन३ स्मार्टफोन अमेरिकामा प्रि अर्डरका लागि उपलब्ध भएको छ। यो फोनको घोषणा लगभग २ महिनाअघि अर्थात् गत अप्रिल महिनामा भएको थियो।
घोषणापछि प्रि अर्डरका लागि नै यति समय कुर्नुपरेको यो सेट हातमा पर्न प्रि अर्डरपछि पनि अझै केही समय कुर्नपर्नेछ। यो डिभाइस आगामी अगस्ट १९ मा मात्र सार्वजनिक हुने कम्पनीले जनाएको छ।
हाल प्रि अर्डर गर्नेलाई भने कम्पनीले सोनीको सिल्भर वा कालो रंगको डब्लूएफ-१०००एक्सएम३ वायरलेस इयरबड निशुल्क दिने भएको छ।
यसबाहेक प्रि अर्डर गर्नेले कल अफ ड्यूटी गेमको ४३२०० सीपी प्वाइन्ट पनि पाउनेछन्। यो प्वाइन्टको मूल्य ५४० देखि ७०० डलरसम्म पर्छ। निशुलक् दिइने इयरबडको मूल्य भने २३० डलर पर्न जान्छ।
यो डिभाइसमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.५ इन्चको १६४४x३८४० पिक्सेल रेजोल्युशन भएको ओएलईडी डिस्प्ले रहनेछ भने स्न्यापड्रागन ८८८ चिपसेट रहनेछ।
१२ जीबी र्याम र २५६ वा ५१२ जीबी गरी दुई आन्तरिक स्टोरेज भेरियन्टमा आउने यो फ्ल्यागशिप फोनमा क्वाड क्यामरा सेटअप दिइएको छ।
यस्तै सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा लगाइएको छ भने ३० वाट चार्जिङ सपोर्टसहितको ४५०० एमएएचको ब्याट्री रहेको छ। यसमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम राखिएको छ।
प्रकाशित: १८ असार २०७८, शुक्रबार