डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्धत गर्ने: अर्थमन्त्री

Technology Khabar १५ असार २०७८, मंगलवार

काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु गरेको बताएका छन् ।

मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेबीनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताए । उनले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे ।

डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पुर्याउने उनको भनाई छ । उनले उद्यमशीलता बृद्धिका लागि सरकार लागिपरेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको पनि बताए ।

अर्थमन्त्री पौडेलले मिडिया इन्टरनेसनलद्धारा आयोजित ‘फाइनान्सियल डिजिटलाईजेसन लिट्रेसी’ को लोगो अनावरण गरेका थिए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठुलो सहयोग गरेको बताए । कोरोना महामारीपछि यसको डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकान्स कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।

उनले पूँजी बजारमा गत साउनदेखि अधिकाँस कामहरु डिजिटल माध्यमबाट भइरहेको बताए। उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रिकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाईजेसनलाई महत्व दिएको बताए । उनले समय बदलीएको उल्लेख गर्दै फाइनान्सियल सेक्टरमा डिजिटलाइजेसनको महत्व बढेको बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रमा बारे भर्खर मानिसहरु जानकार हुन थालेको बताए ।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया