
काठमाडौं ।
पहिलो पटक डिजिटल भिसा प्रणाली लागू भएको छ । सोमबारदेखि विभागले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको सुरु गरेको हो।
४५ वर्षदेखिको हस्तलिखित भिसा प्रणाली प्रतिस्थापन गर्दै उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल भिसा प्रणालीको शुभारम्भ गरे।
पौडेलले पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ नोर्बु लामालाई प्रदान गरेका थिए।
डिजिटल भिसामा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने हुँदा छिटोछरितो र विश्वासिलो हुने सरकारको विश्वास छ।
क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीमा कम्युटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा उत्पन्न गरी भिसा स्टिकर छपाइ गर्ने हुँदा त्रुटि हुने सम्भावना कम हुन्छ । साथसाथै सेवा प्रवाह पनि छिटो छरितो हुने अध्यागमन विभागले जनाएको छ ।
अब नेपालको भिसा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ। यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरका सबै अध्यागमन कार्यालयमासमेत विस्तार गरिने विभागले जनाएको छ।
यस भिसामा नेपालमा पहिलो पटक पिआरएन फाइल प्रविधिको प्रयोग गरि प्रिन्ट गरिने व्यवस्था रहेको विभागले जानकारी दिएको छ ।
प्रकाशित: १४ असार २०७८, सोमबार