
काठमाडौं ।
चिनियाँ प्रविधि कम्पनी बाइडु र अटोमोबाइल कम्पनी गीलीले कार निर्माणका लागि साझेदारीमा ७ अर्ब ७० करोड डलर लगानी गर्ने भएका छन्।
यी दुई कम्पनीको संयुक्त लगानी रहेको जिडु अटो विद्युतीय सवारी उत्पादन कम्पनीका रुपमा गएको जनवरीमा स्थापना गरिएको थियो। यसै कम्पनीले आगामी ५ वर्षमा उक्त रकम लगानी गरेर सन् २०२४ सम्ममा आफ्नो पहिलो स्मार्ट कार सार्वजनिक गरिसक्मे बाइडुले बताएको छ।
गत शुक्रबार रोयटर्सले यी दुई कम्पनीबीचको योजना पहिलो पटक सार्वजनिक गरेको थियो। जिडुका मुख्य कार्यकारी शिया यिपिङले बताए अनुसार कम्पनीले पहिलो गाडी निकालेपछि प्रत्येक वर्ष वा १८ महिनामा नयाँ मोडल ल्याउने योजना बनाएको छ।
यसबाट विश्वकै सबैभन्दा धेरै खुला स्वाचालित ड्राइभिङ प्लेटफर्म चलाइरहेको बाइडु र अटो कम्पनी गीलीले चीनको प्रतिस्पर्धात्मक विद्युतीय सवारी बजारमा आफ्नो दह्रो उपस्थिति देखाउने पक्का भएको छ।
अमेरिकी कम्पनीले चीनका निओ, एक्सपेङ तथा ल अटोजस्ता स्टार्टअपहरुमा लगानी गरेको छ। गएको जनवरीमा गीली र बाइडुले बाइडुको इन्टेलिजेन्ट ड्राइभिङ क्षमता तथा गीलीको गाडी उत्पादनको वैशिष्ट्यलाई प्रयोग गरेर स्मार्ट विद्युतीय गाडी उत्पादन गर्ने सहमति गरेका थिए।
प्रकाशित: १२ बैशाख २०७८, आईतवार