काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले इन्टरनेट सेवा प्रदायक कम्पनी एरोनेट प्रालिको भक्तपुर स्थित कार्यालयमा तालाबन्दी गरी इन्टरनेट सेवा अबरुद्ध गरेकोमा आपत्ति प्रकट गरेको छ।
इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानले हालै एक विज्ञप्ती प्रकाशित गर्दै इन्टरनेट जस्तो अत्यावश्यक सेवालाई अवरोध गर्ने कार्य उचित नभएको र आफ्नो गंभिर ध्यानाकर्षण भएको बताएको छ ।
एरोनेट प्रालिका कर्मचारीको फिल्डमा कार्य गरिरहेको बेलामा विद्युत झड्का लागि भएको दूर्घटना प्रति संस्थाले दुख प्रकट गर्दै सोहि कारण इन्टरनेट सेवा अबरुद्ध गर्ने कार्य उचित नभएको बताएको हो ।
आइस्पानले एरोनेटले कानूनअनुसारको क्षतिपूर्ति दिने प्रकृया अगाडि बढाईरहेकोमा दूर्घटनामा परेका कर्मचारीका आफन्तहरुले अनावश्यक माग राखी हुलहुज्जत गरी एरोनेटको भक्तपुर कार्यालयमा तालाबन्दि गरेर इन्टरनेट सेवा अबरुद्ध गरेको जनाएको छ ।
यस्तो कार्यले एरोनेटका ग्राहकहरुलाई असर पारेको र दूरसञ्चार ऐनलाई समेत चुनौती दिने गरेर गैर कानूनी क्रियाकलाप गरेको भन्दै आइस्पानले त्यस्तो कार्य तत्काल रोक्न र त्यस्ता गतिबिधि गर्नेहरुलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग अपिल समेत गरेको छ ।
त्यसैगरि कम्पनीका कर्मचारीहरुलाई ज्यानमार्ने धम्की समेत दिएको भन्दै सो विषयलाई गंभिरतापूर्वक लिन समेत अनुरोध गरेको छ।
प्रकाशित: ९ बैशाख २०७८, बिहीबार