फोन गर्न डाँडामा जानुपर्ने बाध्यता, नेपाल टेलिकमको मोबाइल नेटवर्कले काम नगर्ने

  • Technology Khabar | २५ माघ २०७७, आईतवार
फोन गर्न डाँडामा जानुपर्ने बाध्यता, नेपाल टेलिकमको मोबाइल नेटवर्कले काम नगर्ने
स्याङ्गजामा रहेको नेपाल टेलिकमको टावर । फाइल फोटो

काठमाडौं ।

हुम्ला जिल्लाका विभिन्न गाउँमा मोबाइल सेवाले काम नगरेपछि अग्लो डाँडामा गएर फोन गर्नुपर्ने बाध्यता रहेको छ । सञ्चार सम्पर्क गर्नैपर्ने तर बस्ती भएको ठाउँमा नेटवर्कले काम नगरेपछि अग्ला डाँडामा गएर फोन गर्नुपरेको हो ।

गाउँमा मोबाइल सेवाले काम नगरेपछि अग्ला डाँडामा गएर फोन सम्पर्क गर्ने गरेको नाम्खा गाउँपालिका–५ का टसी लामाले बताए । नेपाल टेलिकमको जीएसएम सेवाले गाउँमा काम नगर्दा सञ्चार सम्पर्क गर्न अग्लो स्थानमा जानुपर्ने गुनासो उनको छ ।

नाम्खाको इलिङ काँधमा टावर भए पनि गहिरो स्थानमा भएका बस्तीमा नेटवर्कले काम गर्दैन ।

यता सर्केगार्ड गाउँपालिका–७ का कृष्णप्रसाद जैसीले गाउँमा फोन नलाग्ने भएपछि दुई घण्टा पैदल हिँडेर मागघोर लेकमा गएर फोन गर्नुपरेको बताए । डाँडाबाट स्पष्ट रूपमा फोन लाग्ने गर्छ । आवश्यक काम परेपछि स्थानीय बासिन्दा उक्त लेकमा गएर सम्पर्क गर्ने गरको जानकारी उनले दिए ।

गाउँमा मोबाइल सम्पर्क गर्ने समस्या हुनेमा यी दुई गाउँ मात्र नभएर अन्य दुई दर्जन गाउँको समस्या उस्तै छ ।

मोबाइल सम्पर्क हुने स्थानको पहिचान गरेर कुराकानी गर्नु गाउँवासीको बाध्यता रहेको अदानचुली गाउँपालिकाका परबहादुर थापाले बताए ।

यता नेपाल टेलिकमका फिल्डम्यान रामबहादुर बोहराले धेरै गाउँमा सञ्चार सम्पर्क गर्न कठिन भएको बताए । कहिलेकाहीँ गाउँमा टावर बनाउन जाँदा पनि गाउँलेले प्रयोग गर्ने विधि अपनाएर सम्पर्क गर्ने गरेको जानकारी उनले दिए । कम क्षमताका टावर भएका कारण यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ । आजको गोरखापत्रबाट

प्रकाशित: २५ माघ २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार