
काठमाडौं ।
ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका केन्द्र अझै सञ्चारविहीन अवस्थामा रहेको छ ।
गाउँपालिका केन्द्रमा कुनै पनि सञ्चार कम्पनीको नेटवर्कले काम नगरेका कारण अझै गाउँपालिका केन्द्र सञ्चार सम्पर्कबाट टाढा रहेको हो ।
गाउँपालिका केन्द्रमा सञ्चार सुविधा नहुँदा दैनिक कार्य सम्पादनमा कठिनाइ भएको छ ।
गाउँपालिका कार्यालयमा टेलिफोनले काम नगर्दा कुरा गर्न डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष निशान्त शर्माको भनाइ छ । जनताका गुनासा र समस्या धेरैजसो फोनमा समाधान हुने भए पनि सञ्चार सुविधा नहुँदा सर्वसाधारणले गाउँपालिका नै धाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
सूचना आदानप्रदानको प्रमुख माध्यम फोन नै नचलेपछि जनप्रतिनिधि र कर्मचारी भए नभएको थाहा नै नपाई अनुमानकै भरमा गाउँपालिका केन्द्र पुग्नुपर्ने वडा नं. ६ की स्थानीय अम्बिका मगरको गुनासो छ ।
अहिले जडान गरेको इन्टरनेट भरपर्दो नभए पनि जेनतेन काम चलाएर कार्यालयका पत्र आदानप्रदान गरिँदै आएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले बताए ।
गाउँपालिकाले निजी कम्पनीको वायरलेस इन्टरनेट जडान गरे पनि प्रभावकारी नहुँदा इन्टरनेट नभएकै कारण लामो समयसम्म गाउँपालिका केन्द्रमा बैङ्कको शाखासमेत खुल्न सकेको छैन ।
गाउँपालिका केन्द्रमा नेटवर्कको पहुँच हुने गरी नेपाल टेलिकमले टावर निर्माण प्रक्रिया अघि बढाए पनि अहिलेसम्म काम सुरु नभएको गाउँपालिका अध्यक्ष शर्माले भने । आजको गोरखापत्रबाट
प्रकाशित: २४ मंसिर २०७७, बुधबार