नेपाल टेलिकमले परिमार्जन गरेर ल्यायो अटर अफर, रु.५५ मै अनलिमिटेड यूट्यूब र फेसबुक प्याकेज

  • Technology Khabar | २८ आश्विन २०७७, बुधबार
नेपाल टेलिकमले परिमार्जन गरेर ल्यायो अटर अफर, रु.५५ मै अनलिमिटेड यूट्यूब र फेसबुक प्याकेज
फाइल

काठमाडौं ।

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी मिति २०७७।६।२९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ ।

पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको कम्पनीले उल्लेख गरेको छ ।

टेलिकमले ल्याएको यस्तो छ अटम अफर-

  • अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा यूट्यूब अनलिमिटेड (Youtube Unlimited) र फेसबुक अनलिमिटेड (Facebook Unlimited) प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एड अन प्याकसमेत खरिद गर्न सकिनेछ ।
  • यसअघि रु. ४० मा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक उपलब्ध गराइरहेकोमा अब सोही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ । त्यसैगरी रु. १५ मा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।
  • पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।
  • यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु. १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ । वान डे डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चलाउन मिल्ने डाटा प्याकको भोल्युम पनि पहिले भन्दा बढी हुने भएको छ । यस अन्तर्गत रु. १० मा ८० एमबी डाटा उपलब्ध भइरहेकोमा अब १२० एमबी र रु. १८ मा २५० एमबी डाटा उपलब्ध भइरहेकोमा अब सोही प्याकेज रु. १५ मा उपलब्ध हुनेछ ।

यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित: २८ आश्विन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार