एनसेलले अवधिभित्रै बुझायो दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने साढे १० लाख रुपैयाँ जरिवाना

  • Technology Khabar | २३ असार २०७७, मंगलवार
एनसेलले अवधिभित्रै बुझायो दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने साढे १० लाख रुपैयाँ जरिवाना

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न विषयहरुमा एनसेललाई गरेको जरिवाना बापतको साढे १० लाख रुपैयाँ कम्पनीले समयमा नै तिरेको छ ।

प्राधिकरणले गएको महिनामा एनसेल प्रालिलाई विभिन्न भ्यालू एडेड सर्भिसहरु अनुमति बिना संचालन गरेको र प्राधिकरणको निर्देशन नमानेको भन्दै कारबाहीसहित जरिवाना गर्ने निर्णय गरेको थियो ।

जसमा तीन छुट्टाछुट्टै निर्णयअनुसार १० लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय थियो।

सोहि आधारमा एनसेलले आफूले प्राधिकरणलाई बुझाउनुपर्ने जरिवाना अघिल्लो साता तिरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

‘कारबाहीसहित रकम बुझाउन पत्र पठाएको ३५ दिनभित्र रकम तिर्नुपर्ने हुन्छ र एनसेलले समयभित्रै जरिवानाको रकम बुझाएको छ,’ ती अधिकारीले भने ।

प्राधिकरणले भ्यालु एडेड सर्भिस लभ डिटेक्टर र  ‘भ्वाईस म्याजिक’ अनुमति नलिई संचालन गरेको भन्दै एनसेललाई ५ लाख जरिवाना गर्ने निर्णय गरेको थियो ।

त्यस्तै एनसेललाई अनुमतिपत्रको शर्त विपरित विभिन्न अफरहरु संचालन गरेको भन्दै अर्को ५ लाख रुपैयाँ अर्को जरिवाना गरिएको थियो ।

यसबाहेक एनसेललाई थप ५० हजार रुपैयाँ पनि जरिवाना गरिएको थियो । जसमा कम्पनीले ‘भास’ एप प्रयोग गर्दा ग्राहकहरुलाई स्वचालितरुपमा सेवा शुरु हुने तर स्वचालितरुपमा सेवा बन्द गर्ने प्रणाली नराखेकोमा कारबाही गरिएको थियो ।

यो पनि हेर्नुस्-

ग्राहकलाई ‘भास’ सर्भिस लगायतमार्फत ठगि गरेको भन्दै एनसेललाई साढे १० लाख रुपैयाँ जरिवाना

प्रकाशित: २३ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...