कनेक्टआईपिएसको दैनिक कारोबार २ अर्ब रुपैयाँ नाध्यो

Technology Khabar २ असार २०७७, मंगलवार

काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले संचालन गर्दै आएका कनेक्टआईपिएस ईपेमेन्ट प्रणालीमा दैनिक कारोबार पहिलो पटक जेठ २६ गते देखी रु २ अर्ब नाघेको छ ।

बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि उक्त रियल-टाइम रिटेल भुक्तानी प्रणालीमा हालसम्मको सबैभन्दा बढि कारोबार भएको छ ।

विगतकोे तीन महिनाको लकडाउन अवधिमा कनेक्टआईपिएस ईपेमेन्ट को मासिक कारोबारमा संख्या र मुल्यको आधारमा क्रमश ७५ प्रतिशत र १८६ प्रतिशतले वृद्धि भएको छ । उक्त प्रणालीमा गत चैत, वैशाख र जेठ महिनाहरुको कुल मासिक कारोबार क्रमश रु १३.८ अर्ब, रु २४ अर्ब र रु ३९.५ अर्ब रहेका छन् । जसमध्ये ६४ प्रतिशत कारोबारहरु एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमार्फत कारोबार पेश भएको कम्पनीले जानकारी दिएको छ ।

एकीकृत एपीआईमा आधारित एनपीआईमा संस्थाहरुले विभिन्न वैकल्पिक माध्यमबाट कनेक्टआईपिएस वा एनसीएचएल आईपिएस वा अन्य प्रणालीमा कारोबारहरु पठाउन सक्दछन् ।

हाल यो ६ वटा मोबाइल वालेट, प्राय सबै बीमा कम्पनी, रेमिटान्स कम्पनी, नेप्से, शेयर ब्रोकर, सामाजिक सुरक्षा कोष, कर्मचारी सन्चय कोष र लगभग सबै बैंक तथा वित्तिय संस्थाहरुमा जोडी प्रयोगमा आइसकेको छ ।

कनेक्टआईपिएस ईपेमेन्ट प्रणालीमा हाल सम्म ५८ भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु आबद्ध छन् जस मार्फत बैंकका ग्राहकहरुले प्रयोगकर्ताको बैंक खातामा मोबाइल नम्बरका आधारमा तथा अन्य लाभग्राहीको बैंक खाता विवरणको आधारमा सिधैं फण्ड ट्रान्सफर गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २ असार २०७७, मंगलवार

तपाइको प्रतिक्रिया