नेपालको डाउलोड स्पीड ७० प्रतिशतले सुधार भएपनि औसत डाउनलोडभन्दा अझै ५० प्रतिशत तल

  • Technology Khabar | १ जेष्ठ २०७७, बिहीबार
नेपालको डाउलोड स्पीड ७० प्रतिशतले सुधार भएपनि औसत डाउनलोडभन्दा अझै ५० प्रतिशत तल
सांकेतिक

काठमाडौं ।

नेपालले मोबाइल इन्टरनेटमार्फत हुने डाउनलोड स्पीडमा उल्लेख्य सुधार गरेको देखिएको छ । पछिल्लो १ वर्षमा नेपालले मोबाइल डाउनलोड स्पीडमा सुधारको मामलामा दोस्रो स्थानमा रहेको छ।

विश्वभरबाट मोबाइल र मोबाइल नेटवर्कको तथ्यांक संकलन र अनुसन्धान गर्ने संस्था ओपनसिग्नलकाअनुसार मोबाइल डाउनलोड स्पीड सुधार गर्ने मामलामा नेपाल ७० प्रतिशतसम्म सुधार गरेको छ।

नेपालभन्दा अगाडि अफ्रिकी मुलुक सेनेगल रहेको छ जसले आफ्नो देशभित्र डाउनलोड स्पीडमा ७७.३ प्रतिशतले सुधार ल्याएको छ।

नेपालले पछिल्लो दिनमा मोबाइल नेटवर्कमा सुधार ल्याउँदै गरेको बेलामा मोबाइल डाउनलोड स्पीडमा पनि सुधार देखिएको हो । तर अन्य देशहरुको तुलनामा भने निकै कमजोर रहेको देखिन्छ ।

पछिल्लो एक वर्षको तथ्यांकको तुलनात्मक अध्ययन गरेर प्रकाशित गरिएको मोबाइल नेवटर्क एक्सपेरियन्स रिपोर्टकाअनुसार नेपालको मोबाइल डाउनलोड ७.५ एमबिपिएस रहँदै १०० देशहरुमध्ये ८८ औं स्थानमा रहेको छ ।

दक्षिण एशियाली मुलुकको आधारमा हेर्दा भने नेपालभन्दा निकै तल बंगलादेश र अफगानिस्तान रहेका छन भने दुई स्थान माथि छिमेकी मुलुक भारत र त्यसअगाडि पाकिस्तान रहेको छ ।

त्यसैगरि डाउनलोड स्पीड कमजोर भएकामा नेपालभन्दा पछाडि अन्य अफ्रिकी मुलुकहरुमात्र रहेका छन् ।

डाउनलोड स्पीड अनुभवको पहिलो स्थानमा क्यानाडा रहेको छ । जहाँ ५९.६ एमबिपिएस डाउनलोड स्पीड देखिएको छ । त्यसपछि दोस्रो स्थानमा ५९ एमबिपिएससहित दक्षिण कोरिया छ भने तेस्रो स्थानमा ५४.८ एमबिपिएस डाउनलोड स्पीडसहित नेदरल्याण्ड रहेको छ ।

विश्वभर औसत डाउनलोड स्पीडमा पछिल्लो १ वर्षमा २४.३ प्रतिशतले सुधार हुँदै जनसंख्याको आधारमा १५.४ प्रतिशत पुगेको छ ।

औसत आधारमा हेर्ने हो भने नेपालको डाउनलोड स्पीड करिब ५० प्रतिशत मात्र रहेको देखिन्छ ।

यो रिपोर्ट ओपनसिग्नलले सन् २०२० जनवरीदेखि मार्च र सन् २०१९ को सोहि अवधिमा स‌ंकलन गरेको डाटाको आधारमा तयार पारेको हो।

 

प्रकाशित: १ जेष्ठ २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...