Technology Khabar १७ पुष २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । अमेरिकी आर्मीले सरकारी फोनहरुमा टिकटक प्रयोगका लागि प्रतिबन्ध लगाएको छ । अमेरिकी आर्मीले मनोरन्जनात्मक एपमाथि आफ्नो नीति परिवर्तन गर्दै सो प्रतिबन्ध लगाएको हो ।
आर्मीले पेन्टागनको नयाँ निर्देशिकालाई मान्दै सो प्रतिबन्ध गरेको बताईएको छ ।
यसअघि अमेरिकी नेभीले मात्रै चिनियाँ एपलाई सरकारले दिएको मोबाइल डिभाइसहरुमा साइबर सेक्यूरिटीको कारणले प्रतिबन्ध लगाएको थियो ।
चीनको बेईजिंगमा आधारित बाइटडान्स कम्पनीको भिडियो शेयरिंग प्लेटफर्म अमेरिकासहित विश्वभर लोकप्रिय रहँदै आएको छ । यो एपको बारेमा अमेरिकी अधिकारीहरुले निकै चासो व्यक्त गर्दै आएका थिए जसमा चीनका कम्पनीहरुले आफ्ना उत्पादनहरुमार्फत अमेरिकी सरकारको जानकारीहरु जासूसी गर्ने गरेको बताउँदै आएका थिए ।
मिलिटरी डटकमको रिपोर्टअनुसार अमेरिकी सेनाले गएको डिसेम्बर १६, २०१९ मा साइबर सचेतना संदेश पठाएको थियो जसमा टिकटक प्रयोगलाई पनि संभावित सेक्यूरिटी रिस्कमा राखिएको थियो । सो मेसेजको आधारमा प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत जानकारीहरु सुरक्षित गर्नुपर्ने हुन्छ ।
अमेरिकामा टिकटक एपको जाँच भईरहेको छ । अक्टोबरमा केहि सांसदहरुले यो एपको जाँच गर्न आदेश दिएका थिए । जाँचको मुख्य विषय यो एपले यूजरको डाटा संकलन गरिरहेको छ वा छैन भन्नेमा केन्द्रित छ ।
प्रकाशित: १७ पुष २०७६, बिहीबार