Technology Khabar २८ आश्विन २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । एप्पलको आइफोन एसईको नयाँ मोडलको बारेमा निकै दिनदेखि चर्चा भईरहेको छ । एप्पलले आइफोन एसई २ नाममा नयाँ बजेट आइफोन ल्याउने बारेमा हालै विश्लेषक मिंग ची कुओले नयाँ जानकारीहरु सार्वजनिक गरेका छन् ।
कुओका अनुसार सो आइफोन २०२० को शुरुवातमा लन्च हुनेछ । यसअघि नै आएका रिपोर्ट अनुसार आइफोनको नयाँ डिभाइस आइफोन ८ जस्तै डिजाइनमा आउनेछ । कुओले आइफोन एसई २ मा ६४ जीबी र १२८ जीबी स्टोरेज हने जानकारी दिएको छ ।
नयाँ आइफोन तीन कलर अप्सनमा उपलब्ध हुनेछ, जसमा सिल्भर, स्पेसग्रे र रेड कलर हुनेछ । यो नयाँ आइफोनको सबैभन्दा सस्तो मोडलको शुरुवाती मूल्य ३९९ अमेरिकी डलर हुनसक्ने कुओले अनुमान गरेका छन् ।
यो फोन आइफोन ८ को डिजाइनमा आएपनि यसमा आइफोन ११ को जस्तै सबैभन्दा नयाँ ए१३ चीपसेट प्रयोग गरिने छ भने ३जीबीको र्याम हुनेछ । यसको र्याम भने आइफोन ११ सिरिजको भन्दा १ जीबी कम हुनेछ ।
बजेट आइफोनको रुपमा आउने आइफोन एसई २ मा थ्रीडी टच टेक्नोलोजी भने हुनेछैन् ।
एप्पलले सप्लायरहरुलाई आइफोन एसई २ को २० लाख देखि ४० लाख यूनिट प्रति महिना उत्पादन गर्न भनेको कुओले उल्लेख गरेका छन् । उनकाअनुसार एप्पलले सो आइफोन मोडल ३० लाख भन्दा बढि सन् २०२० मा बिक्री गर्नेछ ।
आइफोन एसई २ ले विशेषगरि आइफोन सिक्स र सिक्स प्लस प्रयोगकर्ताहरुलाई लक्षित गर्नेछ जसले हालै आएको नयाँ आईओएस १३ मा अपडेट हुन पाएका छैनन् ।
आइफोन एसई पहिलो पटक सन् २०१६ मा ३९९ अमेरिकी डलरमा १६ जीबी स्टोरेजमा आएको थियो । यो फोन सन् २०१७ मा आइफोनले बिक्री गर्न रोकेको थियो ।
प्रकाशित: २८ आश्विन २०७६, मंगलवार