
काठमाडौं ।
काठमाडौं । सामाजिक संजाल फेसबुक प्रयोगकर्ताहरुका लागि यसअघि बारम्बार डाटा लीकको समाचार आईरहेकोमा अहिले त्यो भन्दा झनै चिन्ताजनक रिपोर्ट आएको छ ।
फेसबुक प्रयोगकर्ताहरुको करोडौं मोबाइल नम्बरहरु सार्वजनिक भएको छ । यदि तपाईँ पनि मोबाइल नम्बर प्रयोग गरेर फेसबुक लग इन गर्ने गर्नुभएको छ भने तपाईँको पनि मोबाइल नम्बर यो डाटा लीकमा सार्वजनिक भएको हुनसक्नेछ ।
हालै फेसबुकमा जोडिएका एकाउन्टमा राखिएका मोबाइल नम्बरहरु अनलाइनमा भेटिएका छन् । सो सार्वजनिक भएको मोबाइल नम्बरहरुमा ४१ करोड ९० लाख भन्दा बढि यूजर्सको फोन नम्बर लीक भएको हो ।
रिपोर्टअनुसार फोन नम्बर सार्वजनिक भएको सर्भरमा भौगोलिकरुपमा यूजर्सको डाटाबेस राखिएको छ। जसमा १३ करोड ३० लाख रेकर्ड अमेरिकामा आधारित फेसबुक प्रयोगकर्ताहरुको छ भने १ करोड ८० लाख बेलायतमा आधारित यूजर्सको रहेको छ । त्यस्तै अर्को ५ करोड डाटाबेस भने भियतनामका यूजर्सको रहेको छ । बाँकी विभिन्न देशहरुका यूजर्सको रहेको छ ।
सो डाटाबेस रहेको सर्भरलाई कुनै पासवर्डद्धारा सुरक्षित नगरिएको र यो सर्भरमा कसैले पनि प्रवेश गरेर हेर्न सकिने अवस्थामा रहेको बताईएको छ । केहि रेकर्डहरुमा त यूजर्सको नाम, लिङ्ग र देशको नाम समेत रहेको भेटिएको छ ।
सो रेकर्डमा यूजर्सको यूनिक फेसबुक आईडी र एकाउन्टमा राखिएको फोन नम्बर रहेको छ । यूजर्सको फेसबुक आईडी सामान्यतया केहि लामो हुन्छ भने एकाउन्टसँग जोडिएका नम्बरहरु सार्वजनिक भएका हुन् । यी लीक भएका फोन नम्बरहरु सजिलैसँग कसैले पनि यूजरको एकाउन्ट नाममा राखेर प्रयोग गर्न सक्ने अवस्था रहेको छ ।
यसअघि प्रयोगकर्ताहरुको यूजर नेम सार्वजनिक भएको घट्ना भएपनि करिब १ वर्षअगाडि देखि अहिलेसम्म फोन नम्बर नै सार्वजनिक भएको छैन् । किनकी फेसबुकले यूजर्सको फोन नम्बरसम्मको पहुँचमा रोक लगाएको थियो ।
ती लिक भएका नम्बरहरु अझैपनि यूजर्सको फेसबुक आईडीमा लिस्टेड भएको प्रमाणीत भएको छ ।
यो ओपन डाटाबेस सेक्यूरिटी रिसर्चर तथा जीडिआई फाउन्डेसनका सदस्य संयम जैनले पत्ता लगाएका थिए । तर पछि सो डाटाबेसलाई अफलाईन गरिएको थियो । जैनकाअनुसार उनले कयौं चर्चित व्यक्तित्वका फोन नम्बरसहितको प्रोफाइल भेटेका थिए ।
फेसबुकका प्रवक्ताले भने सो डाटा यूजरको फोन नम्बरमा पहुँच हुनुभन्दा अगाडिको भएको बताएको छ । प्रवक्ताले सो डाटालाई अफलाइन गरिएको र हालसम्म कुनैपनि फेसबुक एकाउन्टमा सम्झौता गरिएको कुनै प्रमाण नभेटिएको बताएका छन् ।
यसअघि पनि पटक पटक फेसबुकमाथि डाटा ब्रिचको आरोप लाग्दै आएको छ । फेसबुकले यूजर्सको डाटा बेचेको प्रमाण नै समेत भेटिएको थियो । जसमा फेसबुकलाई करोडौं रुपैयाँको जरिवाना गरिएको थियो ।
अधिकांश मोबाइल फोन यूजर्सले सजिलोको लागि आफ्नो फेसबुकमा मोबाइल नम्बरमार्फत लग इन गर्ने गर्दछन् । त्यसैले पनि त्यस्तो लीक भएको डाटामा ती प्रयोगकर्ताहरुको फोन नम्बर भेटिने गर्दछ ।
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार