यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा

  • Technology Khabar | १५ भाद्र २०७६, आईतवार
यूटिएलको ब्रोडब्याण्ड बिस्तारको परियोजना फिर्ता लिएर नयाँ ढंगबाट शुरु गर्नुपर्छ– संचार मन्त्री बाँस्कोटा
फाइल

काठमाडौं ।

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सूचना प्रविधिको दूरुपयोग रोक्ने कानून आईसकेको भन्दै त्यस्तो गतिविधिमा संलग्नलाई कारबाही गर्ने बताएका छन् ।

संचार मन्त्री बाँस्कोटाले ह्याकिंग गर्ने बैंकिंग कसूर गर्ने र साइबर अपराध गर्नेलाई कारबाही गर्ने प्रकृया शुरु भईसकेको बताएका हुन् ।

राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा साइबर सेक्यूरिटी केन्द्र र डाटा सेन्टर स्थापनाको भईसकेको भन्दै उनले भने, ‘कहाँबाट ह्याकिंग भईरहेको छ, त्यो थाहा पाउने प्रविधि जडान भईसकेको छ । इमेल निर्देशिका बनाएर कार्यान्वयन गरिसकेका छौं, डाटा रिकभरी सेन्टर हेटौंडामा खोलिएको छ ।’

सूचना महामार्गको काम शुरु भईसकेको भन्दै संचार मन्त्री बाँस्कोटाले प्रदेश १, २, र ३ को जिम्मा नेपाल टेलिकमलाई दिएको बताए । उनले यूनाईटेड टेलिकमले काम गर्न नसकेको भन्दै त्यो परियोजना नयाँ ढंगबाट शुरु गर्नुपर्ने स्पष्ट पारे ।

‘गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को ठेक्का भएर पनि काम हुन सकेको छैन्, त्यो दुखद छ, यूटिएलले गरेको काम नभएर दुई वर्षदेखि पेण्डिङ्ग र होल्डिङ्गमा छ, त्यसलाई परियोजना फिर्ता लिएर नयाँ ढंगले अगाडि बढाउनु पर्नेछ,’ उनले भने ।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि काम राम्ररी नभएको भन्दै नयाँ किसिमले शुरु गर्ने जानकारी दिए । त्यस्तै यहि वर्ष बुटवल र बिराटनगरमा इन्टरनेट एक्सचेन्ज सेन्टर स्थापना गर्ने तयारी भएको भन्दै डाटा सेन्टर पनि इटहरी र नेपालगंजमा राखिने बताए ।

त्यस्तै कर्णाली प्रदेश र २ नम्बर प्रदेशमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम अन्तिम चरणमा रहेको र नेपाल टेलिकमको फोरजी परियोजनामा पनि अगाडि बढिरहेको बताए । टेलिकमको फोरजी सेवा कात्तिकसम्म २५ वटा शहरहरुमा पुर्याउने र आउँदो वैशाख जेठभित्र यो परियोजना सक्ने बताए ।

मन्त्री बाँस्कोटाले गुणस्तरीय दूरसंचार सेवा दिनका लागि पूर्वाधार सहप्रयोग गर्नुपर्ने बताए । उनले सहप्रयोगबार्ट लागत र समय सबै घट्न जाने र मनिटरिंग र क्षमता अभिवृद्धिबाट पनि गुणस्तर कायम राख्न सकिने स्पष्ट पारे ।

उनले गुणस्तरीय दूरसंचार सेवाको लागि टेलिकमको तार जमीनमुनिबाट लैजाँदा त्यसमा पानी नपस्ने भन्दै फाइबर लगायतका नयाँ प्रविधिबाट पनि गुणस्तरीयतामा ध्यान दिन सकिने बताए ।

ब्रोडब्याण्ड कनेक्टिभिटी विद्यालयमा पुर्याउन लागिएको बताउँदै संचार मन्त्रीले एक हजार विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेटसहितको सूचना प्रविधि पुर्याउने काम गर्न लागेको र सात वटा विद्यालयमा शुरु भईसकेको बताए ।

संचार मन्त्री बाँस्कोटाले स्याटेलाइटले नेपालमा इन्टरनेट जेनेरेट गर्ने बताउँदै त्यसको लागि सम्झौताको बिन्दुमा पुगेको जानकारी दिए । ‘त्यसले हामीलाई आत्मनिर्भर पनि बनाउँछ, एकातिर बचत हुन्छ भने अर्कोतिर आत्मनिर्भर पनि हुन्छ,’ उनले भने ।

माध्यम

प्रकाशित: १५ भाद्र २०७६, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...