Technology Khabar १६ असार २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा शुरु भएको छ । दूरसञ्चार कार्यालय सुर्खेतमा असार १६ गते सोमबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई फोन गरेर सेवा शुरु गरे ।
सोही फोनमा सञ्चालित इन्टरनेट सेवामार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको विकासले विश्वलाई एउटा गाउँमा परिणत गरेको र मानव जीवनलाई सहज बनाएको बिचार व्यक्त गरे । नेपाल टेलिकमको सो कामबाट डिजिटल नेपालको अवधारणा साकार पार्न ठूलो सहयोग पुग्ने अपेक्षा विश्वास व्यक्त गरे ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले कम्पनीका सेवाहरु देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताए । उनले कम्पनी कर्णाली प्रदेशमा अत्याधुनिक र गुणस्तरीय सञ्चार सेवाका विस्तारमा लागिरहेको र यसका लागि महत्वपूर्ण योजनाहरु सञ्चालनमा रहेका बताउँदै त्यसमा कर्मचारी लगायत स्थानीय प्रशासन र प्रदेश सरकारबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
त्यसैगरी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले निजी सेवा प्रदायक भन्दा टेलिकम पछाडी परेको हो कि भन्दै आफ्नो अग्रणी स्थान कायम राख्न अझै तदारुकताकासाथ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
समारोहमा नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमार, नेपाल टेलिकम नेपालगञ्ज क्षेत्रीय निर्देशनालयका निर्देशक प्रकाशमान सिंह प्रधानलगायतको उपस्थिति थियो ।
५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ । सुर्खेतभरी नै यसको विस्तार तत्काल गर्ने कम्पनीको योजना रहेको जनाएको छ ।
प्रकाशित: १६ असार २०७६, सोमबार