दूरसंचार प्राधिकरणले असोज मसान्तसम्म फ्रिक्वेन्सी दस्तुर २ अर्ब उठायो, तीन कम्पनीले अझै बुझाएनन्

  • Technology Khabar | ६ मंसिर २०७५, बिहीबार
दूरसंचार प्राधिकरणले असोज मसान्तसम्म फ्रिक्वेन्सी दस्तुर २ अर्ब उठायो, तीन कम्पनीले अझै बुझाएनन्

काठमाडौं ।

काठमाडौं । चालु आवको असोज मसान्तसम्म नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार फ्रिक्वेन्सी दस्तुर बापत २ अर्ब रुपैयाँ भन्दा बढि असुल गरेको छ । प्राधिकरणले दूरसंचार फ्रिक्वेन्सी प्रयोग गर्दै आएका कम्पनीहरुबाट पहिलो त्रैमाससम्ममा सो दस्तुर रकम असुल गरेको हो ।

प्राधिकरणको तथ्यांकअनुसार दूरसंचार फ्रिक्वेन्सीको दस्तुर बुझाउने कम्पनीहरुमध्ये ठूलो अंश दूई ठूला टेलिकम अपरेटरहरुको रहेको छ ।

नेपाल टेलिकमको कति ?

चालु आवको असोज मसान्तसम्म नेपाल टेलिकमले प्राधिकरणलाई दूरसंचार फ्रिक्वेन्सीको दस्तुर बापत १ अर्ब भन्दा केहि कम रकम बुझाएको छ । टेलिकमले बुझाएको दूरसंचार फ्रिक्वेन्सीको दस्तुरमध्ये चालु आवको ८००/९००/१८००/२१०० मेगाहर्ज ब्याण्डको अग्रिम फ्रिक्वेन्सी दस्तुर बापत ९८ करोड ६४ लाख रुपैयाँ तिरेको छ भने चालु आवको भीस्याटको अग्रिम फ्रिक्वेन्सीको दस्तुर र २१०० मेगाहर्ज ब्याण्डको अग्रिम दस्तुर बापत कुल १२ करोड ५३ हजार १ सय रुपैयाँ बुझाएको छ ।

त्यसैगरी कम्पनीले २३०० मेगाहर्ज ब्याण्डमा प्राधिकरणलाई दस्तुरबापत १ करोड २० लाख रुपैयाँ समेत बुझाएको छ ।

एनसेलको कति ?

त्यसैगरि निजी क्षेत्रबाट एनसेलले मात्र असोज मसान्तसम्म फ्रिक्वेन्सी दस्तुर बापतको रकम बुझाएको देखिएको छ । सो अवधिसम्म एनसेलले १ अर्ब भन्दा बढि रकम दूरसंचार प्राधिकरणलाई तिरेको छ । कम्पनीले चालु आवको भीस्याट/९००/१८००/२१००० मेगाहर्ज ब्याण्डको अग्रिम फ्रिक्वेन्सी दस्तुर बापत १ अर्ब २ करोड ६ हजार ६ सय रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।

पहिलो त्रैमाससम्म दूरसंचार प्राधिकरणलाई ११ वटा बैंक, जलविद्युत, टेलिकमलगायतका कम्पनीहरुले कुल २ अर्ब १ करोड ८६ लाख ७१ हजार ६ सय ३२ रुपैयाँ दस्तुर बापत तिरेको तथ्यांकमा देखिन्छ ।

यी हुन असोससम्म फ्रिक्वेन्सी दस्तुर नबुझाउने कम्पनी

प्राधिकरणका अनुसार सो अवधिसम्म तीनवटा टेलिकम अपरेटरहरुले आफूले प्रयोग गरे बापतको दूरसंचार फ्रिक्वेन्सीको दस्तुर भने बुझाएका छैनन् । असोज मसान्तसम्म बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर प्राधिकरणलाई नबुझाउने कम्पनीहरुमा नेपाल स्याटेलाइट, यूटिएल र स्मार्ट टेलिकम रहेका छन् । यी कम्पनीहरुमध्ये स्मार्ट टेलिकमले फोरजी सेवा संचालन गरिरहेको छ भने अन्य दुई कम्पनीहरुको सेवा संचालनमा छैन् ।

सो अवधिसम्म नेपाल स्याटेलाइटले दूरसंचार प्राधिकरणलाई अघिल्लो वर्षसमेत जोड्दा करिब ७० करोड रुपैयाँ तिर्नुपर्ने देखिन्छ । जसमध्ये चालु आवको १२ करोड ४८ लाख रुपैयाँ फ्रिक्वेन्सी दस्तुर बापतको रकम रहेको छ ।

त्यस्तै बन्द प्राय रहेको यूटिएलले पनि असोज मसान्तसम्म कुल ४५ करोड ६९ लाख रुपैयाँ तिर्नु बाँकी रहेको छ, जसमध्ये २० करोड ४५ लाख रुपैयाँ यो बर्षको मात्रै बाँकी फ्रिक्वेन्सी दस्तुर रहेको छ ।

फोरजी सेवा संचालन गरिरहेको स्मार्ट टेलिकमले पनि प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर बापत ठूलै रकम तिर्न बाँकी रहेकोछ । कम्पनीले असोज मसान्तसम्ममा करिब ८५ करोड रुपैयाँ तिर्नुपर्ने बक्यौता रहेको देखिन्छ जसमध्ये यो वर्ष करिब ४३ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित: ६ मंसिर २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार