Technology Khabar १७ भाद्र २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ६ स्थानमा आइतबारदेखि फ्रि वाईफाई सेवा सुरु गरेको छ । ३६ स्थानमा फ्रि वाईफाई सेवा प्रदान गर्दै आएको महानगरले थप ६ स्थानमा सेवा विस्तार गरी ४२ स्थानमा पुर्याएको हो ।
महानगरले काठमाडौंका हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रका सार्वजनिक स्थानमा फ्रि वाईफाई सेवा प्रदान गरेको हो ।
काठमाडौंका विभिन्न ६ स्थानमा जडान गरिएको सो वाईफाई डेढ महिना अघि परीक्षणका रुपमा संचालनमा ल्याइएको थियो । काठमाडौं महानगरपालिकाका मेयर विद्याशुन्दर शाक्य र वल्र्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलिप अग्रवालले फ्रि वाईफाई सेवा संयुक्त रुपमा उद्घाटन गरे।
निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने विषयमा काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच गत चैत १८ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीपत्रमा ६० दिनभित्रमा सेवा शुरु गर्ने भनिए पनि ढिला सेवा शुरु भएको हो । महानगरका अनुसार रााजधानीको पर्यटकिय क्षेत्र ठमेल, नारायण चौर र नयाँ बसपार्कमा सेवा विस्तार गर्ने तयारी गरेको छ ।
हाल पशुपति क्षेत्रमा ७ सय जनाले फ्री वाईफाई चलाउन सक्ने क्षमताको व्यान्डवीथ छोडिएको छ भने बौद्धमा ५ सय, बालाजुमा ७ सय, शंखपार्कमा २ सय, स्वयम्भुमा ३ सय तथा बसन्तपुरमा भने ५ सय जनासम्मले चलाउन सकिने गरी सेवा दिईएको छ । सो सेवा एक जना प्रयोगकर्ताले आधा घण्टामात्र चलाउन सक्नेछन् । साथै कुनै सेवाग्राहीले एउटा स्थानमा १५ मिनेट ईन्टरनेट चलाएर अर्को स्थानमा बाँकी रहेको १५ मिनेट चलाउन सक्नेछन् ।
एक पटकमा वाईफाईका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुने बताईएको छ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यानमा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् ।
प्रकाशित: १७ भाद्र २०७५, आईतवार