Technology Khabar ३० श्रावण २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई मंगलबार बर्खास्त गर्यो । प्रतिस्पर्धाबाट छनौट भएर २०७३ असोजमा नियुक्त भएकी प्रबन्ध निर्देशकलाई सरकारले लक्ष्यअनुसार कामगर्न नसकेको भन्दै पदबाट हटाएको हो । सरकारले नै सक्षम भनेर नियुक्त गरेको व्यक्तिलाई अहिले आएर समयावधि छँदै हटाउनुको कारण के हो भन्ने विषय सबैतिर उठ्नु स्वभाविक हो ।
सरकारले भने आफैंले तोकेको लक्ष्य अनुसार पनि काम गर्न नसक्नेलाई राखिरहनु उचित नहुने र टेलिकमको सेवा बिस्तार नै प्रभावित हुने स्पष्ट पारेको छ ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनीलाई पदबाट बर्खास्त गर्नुका केहि मुख्य कारणहरुको बारेमा टेलिकम क्षेत्रका जानकारहरुसँगको कुराकानीकाे आधारमा चर्चा गर्ने प्रयास गर्नेछौं।
दुई पटक स्पष्टिकरण दिनुपर्ने अवस्था आउँदा पनि उनले ठोस एजेण्डा र रणनीति सरकारलाई स्पष्ट पार्न नसक्नु उनको कमजोरी थियो । पहिलो पटक प्रधानमन्त्रीले नै टेलिकमको इन्जिन फेर्ने कुरा गर्दा उनले आफ्नो क्षमता र दक्षताअनुसार काम गरेर देखाउनु पर्ने बाध्यता थियो तर पनि उनले स्पष्टिकरणलाई सामान्य विषयको रुपमा लिईन् र जागिरे मानिसकताबाट माथि उठन नसक्नु उनको कमजोरी थियो ।
त्यस्तै सरकारलाई सबैभन्दा धेरै राजस्व बुझाउने, सबैभन्दा ठूलो सरकारी कम्पनी, टेलिकम बजार हिस्साको आधा बजार ओगट्ने कम्पनी संचालन गर्न नेतृत्व भएर मात्र पुग्दैन् । रणनीतिक योजना, नेतृत्वलाई सहयोग गर्ने समूह वा टिम, कर्मचारीहरुको सहयोग, संस्थालाई कमाण्ड गर्नसक्ने क्षमता जस्ता विषयहरु आवश्यक पर्दछ । तर कामिनीले उनलाई अन्तिम अवस्थासम्म सहयोग गर्ने किसिमको कुनै टिम टेलिकम भित्र बनाउन नसकेको टेलिकम अधिकारीहरुको भनाई रहँदै आएको छ ।
त्यस्तै आफ्नो नेतृत्वमा कार्यरत कर्मचारीहरुलाई उत्प्रेरित गर्ने क्षमता पनि उनले देखाउन सकेकी थिईनन् । उनका नजिकमा रहेर काम गर्ने टेलिकम कर्मचारीहरुकाअनुसार उनी आफू इन्जिनियर भएको हुँदा सबै जान्ने र बुझ्ने हुँ भन्ने उनमा घमण्ड थियो । अन्य कर्मचारीहरुलाई उनले कहिले पनि विश्वासमा लिन सकिनन् । त्यसले गर्दा उनलाई काम गर्न असहयोग भई नै रह्यो । र कर्मचारीलाई उत्प्रेरित गर्न नसक्दा मुख्य कार्यहरु अगाडि बढ्न सकेन् ।
त्यसैगरि उनले आफ्नो जिम्मेबारीबाट आफ्नो क्षमता र दक्षता देखाउने भन्दा पनि माथिल्लो सरकारी निकाय र राजनीतिक नेतृत्वलाई रिझाउने प्रयास तर्फमात्र केन्द्रित भईन् । माथिल्लो नेतृत्वलाई रिजाउन सकेमा आफ्नो पद जोगिने यसअघिदेखिको परम्परा हुँदा सोहि विषयमा उनको ध्यान गएको टेलिकमका अधिकारीहरुले बताउँदै आएका छन् । हरेक कुरालाई हुन्छ र गर्दैछु भन्ने तर त्यसको रिजल्ट दिन नसक्ने कमजोरी उनमा शुरुदेखि नै रह्यो, त्यसले माथिल्लो तहमा उनको क्षमतामाथि प्रति प्रश्न गर्ने वातावरण समेत कायम गर्यो ।
नेपाल टेलिकम यस्तो सरकारी कम्पनी हो जहाँ एउटा सानो भन्दा सानो टेण्डर र काम पनि करोडौं रुपैयाँमा हुन्छ । त्यसैले यसमा हरेक व्यापारी, ठेकेदारहरुको आँखा लाग्नु स्वभाविक हो । त्यस्तै समस्या यसको फोरजी सेवा बिस्तारमा पनि देखियो जसले गर्दा कम्पनीको सेवा बिस्तार र नाफामा प्रभाव पर्यो । हुनत कम्पनीले अहिले पनि नाफा वृद्धि भएको देखाएको छ, तर कम्पनी स्रोतकाअनुसार सो बढेको नाफा सेवा बिस्तार र वृद्धिबाट आएको नभई टेलिकमले विभिन्न बैंकहरुमा राखेको उच्च व्याजदरबाट आएको थप रकम हो ।
फोरजी सेवा बिस्तार
अर्को विषय भनेको टेलिकमको फोरजी सेवा बिस्तार । कम्पनीले नेपालमा पहिलो पटक फोरजी सेवा काठमाडौं र पोखरामा शुरु गरेपनि चलखेलका कारण सो सेवा बिस्तार गर्न सकेन तर निजी सेवा प्रदायक कम्पनी एनसेलले भने हालसम्म २१ स्थानहरुमा फोरजी सेवा बिस्तार गरीसकेको छ । टेलिकमले फोरजी सेवा शुरु गर्दा जुन प्रकृया र प्रविधिअनुसार शुरु गर्यो त्यसलाई अर्बौंको चलखेलका कारण निरन्तरा दिन सकेन तर निजी कम्पनीले भने सोहि प्रकृया र प्रविधि अपनाउँदै सेवा बिस्तार गरिरह्यो ।
टेलिकमले टूजी र थ्रीजी बिटिएस टावर र स्टेशनलाई अपग्रेड गर्दै फोरजीमा रुपान्तरण गर्यो जसमा करिब ७० करोड रुपैयाँ खर्च भएको थियो । सोहि प्रविधि र प्रकृयाअनुसार अर्को ४ अर्ब खर्च गरे देशभर नै सेवा बिस्तार गरिदिने प्रस्ताव थ्रीजी सेवा बिस्तार गरिरहेको ठेकेदार कम्पनी ह्वावे टेक्नोलोजीजले गर्यो तर सो प्रस्तावलाई टेलिकमले ठाडै अस्विकार गर्यो र नयाँ टेण्डरको प्रकृया शुरु गर्न थाल्यो ।
नयाँ प्रकृयामा ह्वावे र जेडटिई कम्पनीले प्रतिस्पर्धा गरेपछि ह्वावेले फोरजी रेडियो एक्सेसका लागि १९ करोड रुपैयाँ र जेडटिईले कोर नेटवर्कका लागि २ अर्बको प्रस्ताव पेश गरे ।
जसले गर्दा फोरजी सेवा बिस्तारका लागि करिब २१ अर्ब लाग्ने देखियो भने इन्टरकनेक्सनका लागि छुटै करिब २ अर्ब कम्पनीले माग गरेको कम्पनी स्रोतको भनाई छ ।
एकातर्फ पुरानो प्रविधिलाई अपग्रेड गर्दा फोरजीको लागत कम लाग्ने र छिटो सेवा बिस्तार हुने थियो भने टेलिकमको नाफा पनि बढ्ने थियो तर नयाँ टेण्डरले गर्दा यो काम बिस्तार नै रोकिन पुग्यो । जसले गर्दा कम्पनीको सेवा र नाफा दुबै कमजोर हुँदै गयो ।
एफटिटिएस बिस्तार
टेलिकमले काठमाडौंलगायत मुख्य मुख्य शहरहरुमा ३ लाख क्षमताको नेटवर्क बिस्तार गर्ने महत्वाकांक्षी लक्ष्य लिएको थियो तर त्यसमध्ये १० प्रतिशत ग्राहकहरुसम्म पनि सेवा नपुगेको टेलिकमका अधिकारीहरुको भनाई छ । तर टेलिकमले भने शहरी क्षेत्रका ग्राहकहरुलाई उच्च क्षमताको डाटा सेवा प्रदान गर्न काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य–मुख्य शहरहरुमा तीन लाख क्षमताको FTTH (Fiber To The Home) नेटवर्क विस्तार गरी १ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिने योजना लिँदै आएको छ।
अप्टिकल फाइवर
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा प्रदेश १,२,३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइवर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गर्नुपर्ने थियो जून अझै शुरु हुन सकेको छैन् । सूचना बिस्तार र इन्टरनेट सेवा बिस्तारको ब्याकबोनको रुपमा रहेको अप्टिकल फाइबर बिस्तारकोलागि २ वर्षको अवधि तोकिएकोमा अहिले भर्खर बोलपत्र आह्वान गरेको थियो ।
अप्टिकल फाइवर नेटवर्क बिस्तार कार्य पाँचथरको चियो भञ्ज्याङ देखि गोर्खा-धादिङको आरुघाटसम्म कुल २ हजार १ सय ७९ किलोमिटर विस्तार गर्नुपर्नेमा सरकारको लक्ष्य हासिल गर्न समेत असंभव देखिएको छ ।
यी त भए केहि मुख्य कार्यहरु त्यस्ता धेरै कारणहरु छन जसमा सेवाको गुणस्तर अभिवृद्धि, ल्याण्डलाइन टेलिफोन सेवाको अपग्रेड, इन्टरकनेक्सनको बाँकी बक्यौता लामो समयदेखि उठाउन नसक्नुलगायतका अन्य कारणहरु रहेको टेलिकम अधिकारीहरु र उनी नजिकका स्रोतहरुले बताउँदै आएका छन् ।
प्रकाशित: ३० श्रावण २०७५, बुधबार