यूट्यूबमा भिडियो बनाउनुहुन्छ भने अब अझै आम्दानी गर्न सकिने, यस्तो छ नयाँ फीचर

  • Technology Khabar | ८ असार २०७५, शुक्रबार
यूट्यूबमा भिडियो बनाउनुहुन्छ भने अब अझै आम्दानी गर्न सकिने, यस्तो छ नयाँ फीचर

काठमाडौं ।

काठमाडौं । भिडियो बनाएर यूट्यूबमार्फत आम्दानी गर्नेहरुका लागि खुशीको खबर आएकोछ । अब यूट्यूबले यूट्यूबरहरुलाई अतिरिक्त आम्दानी गर्ने अवसर दिने भएको छ ।

अहिले पनि यूट्यूबमा भिडियो राखेर मानिसहरुले त्यसमा आउने विज्ञापनको आधारमा गूगलबाट आम्दानी गर्दै आएका छन् । तरपनि कम्पनीले अझ धेरै आम्दानी गर्ने अवसर दिनेभएको हो ।

यूट्यूबले अब पेड मेम्बरसिप अर्थात रकम तिरेर भिडियो हेर्न पाईने फीचर सार्वजनिक गरेको छ । कम्पनीले केहि साताभित्रै भिडियो सिर्जना गर्नेहरु र च्यानलका मालिकहरुको लागि फ्यान क्लबको शुरुवात गरेको हो । जसअन्तरगत यूट्यूबमा भिडियो हेर्ने सदस्यहरुबाट मेम्बरसिप रकम ४.९९ अमेरिकी डलर अर्थात करिब ६ सय रुपैयाँ उठाउन सक्नेछन ।

कुनैपनि च्यानलमा राखिएको विशेष भिडियो हेर्नका लागि सदस्यहरुले अतिरिक्त रकम तिर्नुपर्नेछ ।

यूट्यूबको भिडकोन कन्फ्रेन्समा कम्पनीले नयाँ फीचरको घोषणा गरेको हो । सो फीचरमार्फत अतिरिक्त आम्दानी गर्नको लागि यूट्यूब च्यानलमा कम्तिमा १ लाख सब्सक्रिप्सन अर्थात सदस्यहरु हुनुपर्नेछ ।

‘हामीले सर्जकहरुलाई टुल्स दिएका छौं । च्यानल मेम्बरसिपका साथमा, सर्जकहरुले उत्पादन र नाम लिनसक्नेछन र उनीहरुले चाहनाअनुसार कस्टमाईज गर्न सक्नेछन्,’ यूट्यूबमा सब्सक्रिप्सन प्रोजेक्टको नेतृत्वगर्ने रोहित धवनले बताए ।

कम्पनीकाअनुसार भिडियो बनाउने सर्जकले अन्य सामाग्रीहरु वा उत्पादनहरुसमेत च्यानलबाट बिक्री गर्न सक्नेछन् ।

यसअघि यूट्यूबबाट यूजरको भिडियोमा आउने विज्ञापनको आधारमा उनीहरुलाई रकम दिने गर्दथ्यो । जसमा विज्ञापन कारोबार गर्ने गूगलको कम्पनी गूगल एडसेन्सको तर्फबाट रकम भुक्तानी गर्ने गरिन्थ्यो । कतिपय यूट्यूबरहरुले अहिले नै यूट्यूबमा एडसेन्सबाट लाखौं रकम आम्दानी गर्दै आएका छन् ।

माध्यम

प्रकाशित: ८ असार २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार