मोबाइलमा कुराकानी गर्न टेलिकमले ऋण दिने, डाटा चलाउँदा छुटैछुट, रिचार्जमा पनि बोनस

Technology Khabar २२ माघ २०७४, सोमबार

काठमाडौं ।

काठमाडौं, २२ माघ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि मोबाइलमा ऋण दिने भएको छ । कम्पनीले आज आयोजित वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ऋण दिने नमस्ते क्रेडिट नामक सेवा शुरु गरेको हो ।

सो सेवामार्फत ग्राहकहरुले फोन गर्दागर्दै रकम सकिएमा पनि कुराकानी गर्न सक्नेछन् । कुरा गर्दागर्दै फोनको व्यालेन्स सकिएपनि फोन गर्न सकिने र पछि रिचार्ज गर्दा सो रकम काटिने तर कुनै ब्याज वा थप रकम नलाग्ने टेलिकमले जानकारी दिएको छ ।

सूचना तथा संचामन्त्री मोहनबहादुर बस्नेतले सो सेवा शुरु गरेका हुन् । आज शुरु गरिएको सो योजना आगामी एक महिनाभित्र व्यवसायीकरुपमा कार्यान्वयनमा आउने कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुटहरु दिने जानकारी दिईन् ।

यो सेवामा क्रेडिट लिमिट कति हुने र कति बेरसम्म पैसा सकिएपनि कुराकानी गर्न पाईने भन्ने अझै निर्धारण भईसकेको छैन् ।

यसका साथै टेलिकमले विभिन्न सेवा तथा सुविधाहरु आफ्ना ग्राहकहरुलाई दिने घोषणा गरेको छ ।

यस्तो छ अफरहरु

एडिएसएल सेवा

चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले एडिएसएल सेवाको गति माघ २५ गतेदेखि ५ मेगाबाईट प्रतिसेकेण्ड पुर्याएको छ भने क्रस बण्डलिंगमा तीन महिनासम्मका लागि एडिएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सिडिएमएमा डाटा बोनस उपलब्ध गराउनेछ ।

त्यसैगरि पोस्टपेड ग्राहकहरुलाई मात्र दिँदै आएको सीयूजी सेवा अब प्रिपेड ग्राहकहरुलाई पनि उपलब्ध गराउनेछ ।

डाटा प्याकेज

कम्पनीले जीएसएम सेवातर्फ माघ २३ गतेदेखि फागुन ८ गतेसम्मका लागि अनलिमिटेड नाइट भ्वाइस प्याकेज ३ दिनका लागि ३५ रुपैयाँ कायम गरेकोछ ।

अनलिमिटेड अल टाइम डाटा प्याकेज कुनैपनि समय प्रयोग गर्न सकिने २४ घण्टाका लागि ५० रुपैयाँ शुल्क तोकेको छ ।

अनलिमिटेड नाइट डाटा प्याकेज एक रातको लागि १५ रुपैयाँ निर्धारण गरेको छ ।

रिचार्ज बोनस

टेलिकमले रिचार्जतर्फ माघ २३ गतेदेखि २९ गतेसम्म बोनस दिने भएको छ ।

जसमा ५० रुपैयाँदेखि २ सय रुपैयाँसम्म १० प्रतिशत बोनस छ भने ५ सय र १ हजार रुपैयाँको बोनसमा १५ प्रतिशत बोनस दिने भएको छ ।

ल्याण्डलाइन सेवा

ल्याण्डलाइन सेवाग्राहीहरुका लागि पनि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिने घोषणा गरेको छ ।

अन्तराष्ट्रिय कल

कम्पनीले माघ २५ गतेदेखि वैशाख २५ गतेसम्मको लागि छिमेकी राष्ट्र भारतमा कल गर्न २ रुपैयाँ २२ पैसादेखि २ रुपैयाँ ३३ पैसा प्रति मिनेटसम्मको अफर ल्याएको छ ।

कम्पनीले अन्तराष्ट्रिय आगमन कल प्राप्त गर्ने ग्राहकहरुलाई पनि प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढि कल आएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस गर्न बोनस दिने भएको छ ।

फाइबर टू होम

कम्पनीले फाइबर टू होम सेवा प्रबर्धन गर्न माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म एफटिटिएस सेवाका व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरुलाई विभिन्न अफरहरु दिने भएको छ ।

यसबाहेक कम्पनीले स्प्रीङ अफर पनि वैशाल २५ गतेसम्म संचालन गर्ने भएको छ ।

प्रकाशित: २२ माघ २०७४, सोमबार

तपाइको प्रतिक्रिया