
काठमाडौं ।
काठमाडौं, २३ असार । अब रोबोटले समाचार लेख्ने भएको छ । रोबोटले महिनाभरमा ३० हजार वटा समाचार लेख्ने भएको छ ।
तर समाचार लेख्ने रोबोट प्रत्यक्ष हेर्नको लागि भने केहि समय कुर्न पर्नेछ ।
गूगलले हालै यूरोपेली समाचार बजारका लागि रोबोट रिपोर्टर बनाउनका लागि लगानी गर्ने भएको छ । यो प्रोजेक्टअनुसार कप्यूटरहरुले स्थानीय मिडियाहरुका लागि महिनामा कम्तिमा ३० हजार स्टोरीहरु लेख्नेछ ।
गूगलले यूरोपको पत्रकारितामा नयाँ आयाम थप्नका लागि प्रेस एसोसिएसनलाई ७ लाख ६ हजार यूरो प्रदान गरेको छ । यो प्रोजेक्टबाट यस्तो रोबोट तयार हुनेछ जसले महिनामा ३० हजार स्टोरीहरु लेख्नेछ ।
यो अनुदान गूगलको डिजिटल न्यूज इनिसिएटिभ फण्डबाट आएको छ । जसले तीन वर्षभित्रमा १५० मिलियन यूरो लगानी गर्नेछ । यो प्रोजेक्टले यूरोपको डिजिटल पत्रकारितामा अन्वेषण गर्न सहयोग र उत्प्रेरणा गरेर नयाँ उद्योगलाई सहयोग गर्नेछ ।
आगामी वर्षदेखि रिपोर्टर्स एण्ड डाटा एण्ड रोबोटस् (राडार) (RADAR) नाममा यो प्रोजेक्ट शुरु हुनेछ । प्रेस एसोसिएसन तथा डाटा बेस्ड न्यूज स्टार्टअप अब्र्स मिडिया मिलेर आर्टिफिसियल इन्टेलिजेन्समा आधारित न्यूज सर्भिसमा काम गर्नेछन्, जसले महिनाभरमा पब्लिेकेसनहरुका लागि हजारौं समाचारहरु तयार पार्नेछ ।
के के विषयमा समाचार रोबोटले समाचार लेख्छ ?
डाटा सिट तयार पार्नका लागि पाँच जना पत्रकारहरुको नयाँ समूहले पत्ता लगाउने तथा रेकर्ड गर्ने काम गर्नेछ । जसले सरकारी विभागहरु, स्थानीय अधिकारीहरु, एनएचएस ट्रस्टहरु तथा अन्य स्रोतहरुबाट समाचार तयार तथ्यांक संकलन गर्नेछन् । उनीहरुले अपराध, स्वास्थ्य, तथा रोजगारीलगायतका कयौं शिर्षकहरुमा स्टोरी टेम्पलेट तयार पार्ने प्रेस एसोसिएसनले बताएको छ । यहि विषयहरुलार्इ समेटेर रोबोटले स्टोरीहरु तयार पार्नेछ ।
प्रेस एसोसिएसनका एडिटर इन चीफ पीटर क्लिन्टफले यो कार्यक्रम साना ब्लगरहरुसहित ठूला समाचार संस्थाहरुका लागि पनि लाभदायक हुने बताए । उनले यो प्रोजेक्टले सबैलाई सहयोग हुने दाबी गरे ।
रिपोर्टअनुसार समाचार एजेन्सी रोयटर्सले पनि अटोमेटेड भिडियो बनाउने सर्भिस वीबबिजका (Wibbitz) साथ सहकार्य गरेको छ । यो करारअन्तर्गत रोयटर्सको टेक्स्ट तथा ग्राफिक्सको प्रयोग गरेर डिजिटल भिडियो प्याकेज बनाउने काम हुनेछ ।
प्रकाशित: २३ असार २०७४, शुक्रबार