Technology Khabar २६ बैशाख २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २६ वैशाख । एप्पल कम्पनीको एप्पल म्यूजिकले (Apple Music) आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । एप्पल म्यूजिकले आफ्ना प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धामा उत्रन र प्रयोगकर्ताहरुको संख्या वृद्धि गर्न नयाँ योजना सार्वजनिक गरेको छ ।
एप्पल म्यूजिकले स्टूडेन्ट प्लान ल्याएको छ, जसअन्तरगत कुनैपनि कलेज वा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एप्पल म्यूजिकको सर्भिसमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । कम्पनीले यो योजना स्पोर्टिफाई, साउण्ड क्लाउड, टिडललगायतका प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्धा गर्न ल्याएको हो ।
अमेरिकामा एप्पल म्यूजिकको व्यक्तिगत सदस्यता लिन अहिले ९.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । अब यो योजनाबाट स्टूडेन्ट मेम्बरसिपअन्तर्गत केबल ४.९९ अमेरिकी डलर प्रति महिना मात्र तिरे पुग्दछ ।
यो योजना अमेरिकामा मात्र नभई अन्य मूलुकमा रहेका विद्यार्थीहरुका लागि पनि हो । एप्पल म्यूजिकको यो योजना यूके, जर्मनी, डेनमार्क, आयरल्याण्ड, अस्ट्रेलिया र न्यूजिल्याण्डमा पनि लागू हुनेछ ।
एप्पल म्यूजिकको सदस्यता शुल्क विभिन्न बजारहरुमा फरक फरक रहेको छ । यो आधारमा हेर्दा स्टूडेण्ट मेम्बरसिप पनि फरक फरक पर्नेछ तर पनि सबै बजारहरुमा स्ट्याडण्ड सब्स्क्रीप्सन प्राइसमा विद्यार्थीका लागि ५० प्रतिशत छुट दिईएको छ ।
यो मूल्य कटौती योजना सदस्यहरुका लागि ४ वर्षसम्म साइन इन गरेको अवधिबाट लागू हुनेछ भने त्यो अवधिभर विद्यार्थीले बिचमा बिदा लिएमा वा भर्ना नभएमा पनि निरन्तरता दिन पाउनेछ । त्यसैगरी यो योजना दुई वर्षसम्मको अवधि भएको मास्टर्स प्रोग्राममा भर्ना भएका विद्यार्थीले पनि उपयोग गर्न पाउने छन् ।
यो योजना हाल नयाँ तथा पुराना सदस्यहरु सबैमा लागू भएको एप्पल म्यूजिकले उल्लेख गरेको छ भने पुराना सदस्य प्रयोगकर्ताहरुले आफ्नो सदस्यता वेब बाट वा एप्पल म्यूजिक मोबाइल एप्लिकेसन फर आईओएस एण्ड एन्ड्रोयडबाट परिवर्तन गर्न सक्नेछन् ।
एप्पलले यो योजनाअन्तर्गतका सदस्यहरुको जाँच गर्न स्टूडेण्ट भेरिफिकेसन टेक्नोलोजी प्रोभाइडर यूनिडेजसँग (UNiDAYS) सहकार्य गरेको छ, जसले यो योजनामा साइनअप गरेका छन् तिनीहरुको बारेमा जाँच गर्नेछ ।
एप्पल म्यूजिकको सदस्यता शुल्क हाल प्रतिव्यक्ति ९.९९ अमेरिकी डलर प्रति महिना छ भने यसको फ्यामिली प्लानको शुल्क १४.९९ अमेरिकी डलर रहेको छ ।
यो सुविधा माथि उल्लेखित देशहरुका कलेज तथा विश्वविद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुका लागि भएको हुँदा ती देशहरुमा पढिरहेका नेपाली विद्यार्थीहरुले पनि फाईदा लिन सक्ने भएका छन् । ती देशहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आफ्नो कलेज वा विश्वविद्यालयको परिचयपत्र तथा भर्नाको आधारमा एप्पल म्यूजिकको शुल्क आधा मात्र तिरे पुग्दछ ।
माथि उल्लेखित मुलुकहरुमा हजारौं नेपाली विद्यार्थीहरु विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत छन् ।
प्रकाशित: २६ बैशाख २०७३, आईतवार