Technology Khabar १ मंसिर २०७३, बुधबार
काठमाडौं ।
काठमाडौ, १ मंसिर । नेपालमा पहिलो पटक भर्मिकम्पोष्ट मलका लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको छ । कृषि विकास मन्त्रीको अध्यक्षतामा सोमवार बसेको प्राँगारिक मल प्रविधिक कार्यटोलीको वैठकबाट भर्मिकम्पोष्ट मलको हकमा त्यसका लागि छुटै गुणस्तर तथा मापदण्ड तय गरिएको हो ।
भर्मिकम्पोष्ट मलको हकमा तय गरिएको गुणस्तर तथा मापदण्डले अब भर्मिकम्पोष्ट मलको विक्रि वितरणको बाटो खुलेको हो । यस अघि प्राँगारिक मलको हकमा एउटै कार्यविधि मात्र लागु गरिएको थियो । जसमा चिस्यान २० देखि ३० प्रतिशतसम्म कायम गरिदा भर्मिकम्पोष्ट मलकोे विक्री वितरणमा जटिलता उत्पन्न भएको थियो ।
झण्डै पाँच वर्षदेखि देखिएको भर्मिकम्पोष्ट सम्बन्धी त्यसको गुणस्तर तथा मापदण्ड बारे देखिएको विवाद नयाँ निणर्यसँगै अन्त्य भएको भर्मिकम्पोष्ट मल प्रालिका सञ्चालक दिपक थापाले जानकारी दिए ।
लामो समयदेखि नेपाल कृषि अनुसन्धान परिषद नार्क, कृषि विकास मन्त्रालय, माटो विज्ञ, लगायतका विभिन्न अनुसन्धानको आधारमा पेश गरिएको प्रतिवेद अनुसार भर्मिकम्पोष्ट मलको गुणस्तर तथा मापदण्ड तय गरिएको हो ।
भर्मिकम्पोष्ट मलको नयाँ तय गरिएको गुणस्तर तथा मापदण्ड अनुसार अब मलको नाइट्रोजन २ प्रतिशत, फस्फोरस शुन्य दशमलव ७५ प्रतिशत, पोटास २ प्रतिशत र चिस्यान २० देखि बढीमा ४० प्रतिशत सम्म रहने गरि निर्णय गरिएको वैठकमा सहभागी प्रविधिक उपसमितिका सदस्य एवं हिकाष्टका उपप्रध्यापक बिष्णु प्रसाद भट्रटराईले जानकारी दिए ।
वैठकमा कृषि विभागका महानिर्देशक युवकध्वज जिसी, माटो व्यवस्थापन निर्देशनालयका कार्यक्रम निर्देशक दुर्गा प्रसाद दवाडी, नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तगर्तका माटो विज्ञान महाशाखाका प्रमुख कमल साह, वरिष्ठ माटो विज्ञ जनार्दन खड्का,वरिष्ठ कृषि अर्थ विज्ञ दिवसराज बिष्ट, नार्कका वैज्ञानिक यज्ञराज गिरी, नार्कका सानुकेसरी बज्राचार्य, हिकाष्टका बिष्णु भटट्राई लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित: १ मंसिर २०७३, बुधबार