ऋणसँगै प्रविधि पनि साथमा भित्र्याउन एडिबीलाई अर्थमन्त्रीको आग्रह

  • Technology Khabar | १ चैत्र २०७८, मंगलवार
ऋणसँगै प्रविधि पनि साथमा भित्र्याउन एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडिबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् ।

एडिबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको बार्षिक समिक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनाहरुमा अझै दातृ निकायको ऋण आवश्यक परेको र यसरी ऋण दिदा विकसित देशमा प्रयोग हुने नबिन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरे।

‘हामीलाई अबका दिनमा ऋण मात्र होइन, प्रविधि पनि भित्र्याइदिनुपर्यो’ उनले भने, ‘जसकारण हाम्रा परियोजना कार्यान्वयन गर्न धेरै सजिलो होस् ।’

उनले ऋण लगानीमा निर्माण हुने परियोजना कार्यान्वयनमा आएपछि सोही ऋण तिर्न सक्ने प्रतिफलयोग्य हुनुपर्ने पनि बताए।

सो समिक्षा कार्यक्रममा एडिबीको आर्थिक सहयोगमा विभिन्न परियोजना संचालन गरिरहेका मन्त्रालयका सचिवसहित अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

सबै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘हामीले ऋण लिएर बनाएका परियोजना सम्पन्न भएर प्रतिफल दिन थालेपछि सोही ऋण तिर्न सक्षम हुनुपर्छ। अहिले बन्दै गरेका र अब छनौट हुने नयाँ परियोजनाका बारेमा पनि यो कुरा ध्यान दिनुहोला।’

छलफलमा सहभागी विभिन्न मन्त्रालय/निकायका प्रतिनिधिले समन्वयको अभाव भएको बताएका थिए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा एबिडीको चार खर्ब नौ अर्ब रुपैयाँ लगानीका परियोजना संचालनमा रहेको जानकारी दिइएको थियो । समिक्षा कार्यक्रम मंगलबार सकिने कार्यतालिका छ।

प्रकाशित: १ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार