काठमाडौं ।
राजमार्गबाट ओहार दोहोर गर्ने वन्यजन्तुलाई दुर्घटनाबाट जोगाउन बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा ‘भेइकल ट्रयाकिङ एन्ड रिकग्नाइजेसन सिस्टम (भीटीआरएस)’ जडान गरेको छ।
बाँके निकुञ्जभित्र पर्ने राजमार्गमा भीटीआरएस जडान गरिएपछि तीव्र गतिमा गुड्ने सवारीसाधन धमाधम कारबाहीमा पर्दै आएका छन।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भीटीआरएस प्रविधि जडान गरेको एक महिना नपुग्दै धेरै सवारीसाधन काररबाहीमा परको बताए। निर्धारित गरिएको गतिभन्दा बढी गतिमा गाडी चलाउनेहरू कारबाहीमा परिरहेको उनले बताए।
निकुञ्जका प्रमुख शाहका अनुसार पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ निकुञ्ज पर्छ, दक्षिणतिर सामुदायिक वनजङ्गल छ। उत्तरको निकुञ्जमा रहेका जनावर दक्षिणी जङ्गलमा जान्छन्, दक्षिणबाट उत्तरतिर जान्छन्। त्यस क्रममा राजमार्गमा जनावरहरू दुर्घटनामा पर्ने गरेका छन्।
बाँके राष्ट्रिय निकुञ्जमा बाघ, चौकालगायत संरक्षित जनावर छन्। यी जनावरसमेत दुर्घटनामा पर्ने भएकाले सवारीसाधनको गतिलाई नियन्त्रण गरिएको प्रमुख शाहले बताए।
निकुञ्जका अनुसार भीटीआरएस नयाँ प्रविधि हो। सबै निकुञ्जमा यो लागू गरिएको छैन। भीटीआरएस लागू गर्नेमध्ये बाँके राष्ट्रिय निकुञ्ज पहिलो हो। यो प्रविधिले सुरक्षामा खटिएको नेपाली सेना, सवारीसाधन चालक दुवैलाई फाइदा पुर्याएको छ।
निकुञ्ज क्षेत्रमा कहीँ पनि गाडी रोक्नु नपर्ने, आफ्नै गतिमा गाडी गुड्ने र पूर्व तथा पश्चिमको दुईवटा प्रवेशद्वारमा रहेको क्यामराले गाडी नम्बर क्याप्चर गर्ने र त्यसलाई अर्को पोस्टमा हेर्न मिल्ने बनाइएको छ। निकुञ्जभित्रको राजमार्ग क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र गुड्ने नियम बनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: १ चैत्र २०७८, मंगलवार