
काठमाडौं ।
यहि चैत ९ देखि १२ गतेसम्म चितवनमा कृषि कर्जा मेला आयोजना हुने भएको छ। कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गराउने उदेश्यले मेला आयोजना हुने भएको हो।
सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषकलाई कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउने उदेश्यले मेला संचालन गर्न लागेको आयोजकले जानकारी दिएको छ।
उक्त मेलाको उदेश्य कृषक र लगानीकर्ता बैंकहरुलाई एकै ठाँउमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरुमा कृषि वित्तीय साक्षरता अभिबृद्धि गर्नु रहेको छ। यसका साथै कृषि कर्जाको क्षेत्रमा देखिएका समस्याहरु निराकरणका लागि पहल गर्ने एशियामै पहिलो पटक नेपालमा उक्त मेला आयोजना गर्न लागेको आयोजक संस्था आर एण्ड डीले जानकारी दिएको छ।
यस्तो खालको मेला विश्वमा भने अमेरिकाको सान फ्रान्सिस्कोमा आयोजना हुने गरेको छ। मेलामा ‘कृषिमा वित्तीय पहुँचको राष्ट्रिय संवाद’ का साथै देशभरिबाट कृषि उद्यमीहरुको सहभागीतामा कार्यशाला समेत आयोजना गरीने आयोजकले कार्यक्रममा जानकारी दिएको छ।
कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपालको भविस्य कृषि र पर्यटनमै रहेकोले यसको विकासका लागि प्रविधि सहित लगानी बढाउनुपर्ने बताए । शाहले विदेशिएका नेपाली दाजुभाईलाई स्वदेशमा फर्काउन प्रविधिमैत्री कृषिमा जोड दिनुपर्ने बताए ।
मेलाले कृषक, बैंक, सेवा प्रदायक र नीति निर्मातावीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने आयोजकको विश्वास रहेको छ। मेलामा एक लाख बढि कृषक आउने र उक्त मेलामा स्टल रहने जानकारी आयोजकले दिएका हुन । मेलामा २० बढी बैंकसँगै १ सय ५० कृषि प्रविधिसँग सम्बन्धित उपकरणका स्टल रहने जानकारी दिईयो।
उक्त मेलाको आयोजक आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका छन भने मुख्य प्रायोजकका रुपमा नबिल बैंक लिमिटेड र कृषि विकास बैंक रहेका छन।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार