काठमाडौं ।
पर्यटकीय गन्तव्य ढोरपाटन क्षेत्रमा नेपाल टेलिकमले फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। २०७५ वैशाखमा माइक्रोवेभ रेडियो लिंकमार्फत् टूजी र थ्रीजी सेवा बिस्तार गरेको टेलिकमले शनिबारदेखि फोरजी सेवासमेत शुरु गरेको हो।
नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माकाअनुसार अब नयाँ टावर बिस्तार भएसँगै सो क्षेत्रका बासिन्दाहरुले अत्याधुनिक मोबाइल सेवा घरमै प्रयोग गर्न सक्नेछन्।
उनले ढोरपाटन उपत्यका पर्यटकीय एवं धार्मिक महत्वको गन्तव्य भएकोले टेलिकमले अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गरी उच्च गतिको इन्टरनेट (मोबाइल डाटा) र गुणस्तरीय एचडी कल सुविधाको भिओएलटिइ सहितको फोरजी सेवा सञ्चालनमा ल्याइएको बताए।
“हामीले यसअघि टूजी र थ्रीजी मात्र चल्ने टावरमा विद्युत पुर्याएर फोरजी सेवा चल्ने गरी नेटवर्क बनाएका छौं। अब ग्राहकहरुले उच्च गतिको सेवा चलाउन सक्नेछन्,” उनले टेक्नोलोजीखबरसँग भने।
नेपाल टेलिकमले मोबाइल टावरमा स्थानीय लघु जलविद्युत कम्पनीको विद्युत प्रयोग गर्ने गरी थ्री फेजको लाइन बिस्तार गरेको छ। यसको लागि टावर भएको स्थानसम्म विद्युत पुर्याउन ५० वटा बिद्युतका पोलहरु जडान गरिएको छ।
“पाँच फिट हिउँ भएको बेलामा समेत निकै कडा मिहिनेतका साथ सबैको सहयोगमा सेबा बिस्तार गर्न सफल भएका हौं,” उनले भने, “अब टावरमा विद्युत गएको बेलामा पनि ग्राहकहरुले टूजी र थ्रीजी सेवा चलाउन सक्नेछन्।”
यसभन्दा अगाडि सोलार सेटमार्फत् सो मोबाइल टावर सञ्चालनमा रहेको थियो। हिमपात र राम्रोसँग घाम नलागेको समयमा नेटवर्क डिस्टर्व हुने समस्या थियो। अब भने विद्युत जडान भएसँगै समस्या हटेको छ। बत्ति गएको बेलामा भने सोलार ब्याकअपले सेवा दिने बताईएको छ।
फोरजी सेवा बिस्तारसँगै टेलिकमले आगामी दिनमा बत्ति नहुँदा समेत टूजी र थ्रीजी सेवा चलाउन सकिने गरी त्यसको लागि फरक फरक एन्टेना राखेको जानकारी दिएको छ।
बागलुङ सदमुकामदेखि १२४ किलोमिटर पश्चिममा अवस्थित ढोरपाटन नगरपालिका ९ नेपाने डाँडामा स्थायी संरचना सहितको २५ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेको नेपाल टेलिकम बागलुङका प्रमुख शर्माले जानकारी दिए।
“आगामी दिनमा सेवा बिस्तार गर्नका लागि राइट अफ वे हुनेगरी टावर बनाएका छौं र थप माइक्रोवेभ रेडियो लिंक त्यसभन्दा माथि समेत बिस्तार गर्न सकिनेछ,” उनले भने।
फोरजी सेवा सञ्चालनमा आएसँगै ढोरपाटन नगरपालिका–९ का फल्लेघर, पाखाथर, छ्यान्तुङ गुम्बा, उत्तरगंगा, बिजौरी खोला, गहुँखेत, नबिगाउँ, भण्डारी गाउँसँगै ढोरपाटन उपत्यकाका झण्डै २५ सय घरधुरी र त्यहाँ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक प्रत्यक्ष लाभान्वित हुने छन्।
पर्यटकीयस्थल ढोरपाटन उपत्यकामा समुन्द्र सतहदेखि करिब ३ हजार २५० मिटरको उचाईंमा अवस्थित हुने गरी मोबाइल सेवा सञ्चालनका लागि ढोरपाटन नगरपालिका–८ को बोबाङमा रिपिटर स्टेशन राखी माइक्रोवेभ रेडियो लिंकमार्फत सेवा सञ्चालन गरिएको छ।
ढोरपाटन उपत्यका र ढोरपाटन शिकार आरक्षसम्मका भूभागमा मोबाइल सेवा पुगेको बताईएको छ। फोरजी मोबाइल सेवा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा मोबाइल डाटामार्फत् इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ।
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार