किशोरीलाई कम्प्युटर सिकाउँदै पुस्तकालय

  • Technology Khabar | २ फाल्गुन २०७८, सोमबार
किशोरीलाई कम्प्युटर सिकाउँदै पुस्तकालय
सांकेतिक

काठमाडौं ।

कैलालीका सामुदायिक पुस्तकालयहरू किशोरीलाई कम्प्युटर प्रविधि सिकाउँदै छन्। टीकापुर नगरपालिकास्थित टीकापुर सामुदायिक पुस्तकालय, भानु सामुदायिक पुस्तकालय र भजनी नगरपालिकास्थित जनता सामुदायिक पुस्तकालयले किशोरीलाई कम्प्युटर तालिम दिन थालेका हुन।

पुस्तकालयले निःशुल्क कम्प्युुटर तालिमपछि किशोरीलाई इन्टरनेटको पहुँच दिएर विभिन्न सामाजिक सञ्जालको प्रयोग गर्न सिकाएको छ। यस्तो अवसर पाउनेमा कक्षा ८ देखि १२ कक्षासम्म पढ्ने किशारी छन्।

कम्प्युटर सिकेसँगै सोसल मिडियाको प्रयोग गर्न सक्ने र यसमा आउने सामग्री सही र गलत छुट्याउन सक्ने तथा आफ्नो एकाउन्ट सुरक्षित राख्नसक्ने भएको टीकापुर नगरपालिका–८ स्थित त्रिभुवन मावि बटनपुरमा कक्षा ११ मा अध्ययनरत छात्रा नीतु चौधरीले बताईन्।

यस्तै गाउँका किशोरीले कम्प्युटर सिकेर सोसल मिडिया चलाउन जान्ने भएपछि गाउँमा नजानेका महिलालाई पनि चलाउन सिकाएर उनीहरूका विदेशमा रहेका आफन्तलाई पनि भेटघाट गराइदिन सहयोग गर्नुपरेको जानकी गाउँपालिका–८ का समीक्षा सुनार बताउँछिन्।

टीकापुर सामुदायिक पुस्तकालयमा १९ वटा ल्यापटप र कम्प्युटर छन। एक दशकदेखि न्यूनतम शुल्कमा कम्प्युटर शिक्षा दिइरहेको टीकापुर सामुदायिक पुस्तकालयले पछिल्लो दुई वर्षयता किशोरीलाई निःशुल्क सिकाइरहेको र यस अवधिमा ६२ जना किशोरीले कम्प्युटर शिक्षा लिएको लाइब्रेरियन रमिता न्यौपानेले बताईन्।

यसैगरी टीकापुर नगरपालिका–७, सत्तीस्थित भानु सामुदायिक पुस्तकालयमा १३ वटा ल्यापटप र दुई वटा कम्प्युटर छन्। भानु पुस्तकालयलाई ७ नम्बर वडा कार्यालयले गत वर्ष ५० हजार सहयोग गरेपछि त्यसबाट थप २१ जना किशोरीले तीन महिनाको आधारभूत कोर्स परा गरेका तिवारीले जानकारी दिए। पुस्तकालयले निःशुल्क कम्प्युटर शिक्षा दिएपछि ग्रामीण क्षेत्रका किशोरीलाई पढाइमा पनि सहयोग पुगेको छ।

जनता सामुदायिक पुस्तकालय भजनीबाट कम्प्युटर शिक्षा पाएकी गङ्गाकुमारी चौधरी एक्काइसौँ शताब्दीका किशोरीको जीवन सहज बनाउन कम्प्युटर सिकेर प्रविधिको प्रयोग गर्न जान्ने बन्न आवश्यक रहेको बताउँछिन । उनी भन्छिन, “हामी दुर्गमका विद्यार्थीका लागि गुगल र युट्युबमा पाइने सामग्री पढाइका लागि आवश्यक छन्। गाउँमै रहेको पुस्तकालयबाट निःशुल्क कम्प्युटर शिक्षा पाउँदा सजिलो भएको छ।”

कम्प्युटर शिक्षाको प्रभाव कक्षाकोठामा देखिएको शिक्षकहरू बताउँछन्। कर्णाली मावि सत्ती टीकापुरका शिक्षिका कमला अर्याल कम्प्युुटर शिक्षाले किशोरीको क्षमता बढेको पुस्तकालयमा कम्प्युटर सिकेका छात्रा निर्धक्कसँग कक्षामा प्रस्तुत भइरहेका बताईन्।

टीकापुर सामुदायिक पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काले रिड नेपाल संस्थाले विपन्न नागरिकले पनि कम्प्युटर शिक्षा पाउन भनी ल्यापटप र डेस्कटप कम्प्युटर दिएपछि पुस्तकालयसँग जोडिएका किशोरीलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्कमा कम्प्युटर शिक्षा दिइरहेको जानकारी दिए। गोरखापत्र

प्रकाशित: २ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार