स्याङ्जामा विद्युतीय राहदानी सेवा सुरु

  • Technology Khabar | १ फाल्गुन २०७८, आईतवार
स्याङ्जामा विद्युतीय राहदानी सेवा सुरु

काठमाडौं ।

स्याङ्जामा ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवा सुरु भएको छ । अब स्याङ्जाका नागरि कले जिल्ला प्रशासन कार्यालयबाट नै ई–पासपोर्ट (विद्युतीय राहदानी) सेवा लिन सक्नेछन् ।

सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ई–पासपोर्ट सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

ई–पासपोर्ट सेवा सूचारु गर्न राहदानी विभागलाई प्रशासनले गरेको अनुरोधअनुसार विभागले इन्जिनियर हेमन्तकुमार शाहसहितको टोली जिल्लामा पठाई प्रक्रिया सुरु गरेको छ।

ई–पासपोर्ट एप्लिकेसनमार्फत सेवाग्राहीले सहजै आवेदन भर्न सक्ने प्रजिअ पौडेलको भनाइ छ । प्रविधिको उपयोग गर्न जान्नेले घरमै बसेर फाराम भर्न सक्छन्, जसका कारण खर्चसमेत बचत हुने उनको भनाइ छ ।

सेवाग्राहीको तथ्याङ्क सुरक्षित र हनुका साथै कीर्तेको सम्भावना नरहने भन्दै प्रजिअ पौडेलले ई–पासपोर्टका लागि से वाग्राहीले आफ्नो विवरण भर्न र आवश्यक कागजात अपलोड गर्नुपर्ने बताए ।

फाराम भरेपछि प्रशासनले दिएको समयमा कार्यालयमा पुगेर फोटो र बायोमेट्रिकका (छाप, ल्याप्चे ) विधि पूरा गर्नुपर्छ । सेवाग्राहीले फाराम भरेको कागजात प्रिन्टकपी र तोकिएको दस्तुर बुझाएको बैङ्क भौचर लिएर आउनुपर्ने प्रशासनले जनाएको छ।

ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र आवश्यक पर्छ। जिल्लामा सुरु भएको सेवा अब इलाका प्रशासन कार्यालय वालिङबाट पनि सञ्चालन गर्ने तयारी गरेको छ।

सबै प्रक्रिया पूरा गरेपछि प्रशासनले छोटो समयमा नै पासपोर्ट मगाई उपलब्ध गराउने प्रजिअ पौडेलले बताए । उनले भने, “हामीले १५ दिनभित्रै पासपोर्ट उपलब्ध गराउने छौँ ।”

बागलुङमा ई–पासपोर्टको फाराम सङ्कलन

जिल्ला प्रशासन कार्यालय बागलुङले पनि विद्युतीय राहदानी (ई–पासपोर्ट)को फाराम सङ्कलन गर्न सुरु गरेको छ। प्रशासनले शुक्रबारदेखि ई–पासपोर्टका लागि फाराम सङ्कलन गर्न थालेको हो । मङ्सिर १ गते देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी)को फाराम सङ्कलन स्थगित गरिएको थियो ।

अब नियमित रूपमा फाराम सङ्कलन गरी विभागको सिस्टममा अपलोड हुने जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नायब सुब्बा तेजराज गौतमले जानकारी दिए ।

एमआरपी दैनिक २०/२५ वटा फारमा सङ्कलन भए पनि ई–पासपोर्टको निवेदन त्यही मात्रामा गर्न कठिन हुने उनको भनाइ छ। ई–पासपोर्टका लागि आवेदन पेस भएको १५ दिनभित्र विद्युतीय पासपोर्ट प्राप्त हुुने नायब सुब्बा गौतमको भनाइ छ । गोरखापत्र

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार