भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ

  • Technology Khabar | ६ माघ २०७८, बिहीबार
भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ

काठमाडौं ।

कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ। मङ्गलबार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो।

माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा कटौती गरिएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए। अदालतले थुनुवा भएका मुद्दाबाहेकका अन्य सबै मुद्दाको साप्ताहिक र दैनिक पेसी सूचीअनुसारको सुनुवाइ स्थगन गरेको छ।

यस्तै साक्षीको बकपत्र, हाजिर हुन आउने तथा वारेसका निवेदनको पेसी पनि स्थगन गरेको छ। धरौटी फिर्ता, रोक्का फुकुवालगायतका सेवा पनि अदालतले बन्द गरेको छ। फैसला तथा अन्य कागजात प्रमाणित गर्ने सम्पूर्ण सेवा पनि अदालतले स्थगन गरेको छ। थुनुवा मुद्दाको सुनुवाइ पनि भर्चुअल माध्यमबाट गरिने अदालतद्वारा जारी सूचनामा उल्लेख छ।

अन्य सेवा बन्द भए पनि मुद्दा दर्तालगायतका प्रक्रिया भने यस अवधिमा पनि जारी रहनेछन् । अभियोग पत्रसाथ उपस्थित गराइएका अभियुक्तको थुनछेक प्रक्रिया, म्याद थपलगायत प्रक्रिया पनि भर्चुअल माध्यमबाटै सञ्चालित रहनेछन् । सेवा प्रवाह स्थगनको अवधिका मुद्दा तथा निवेदनहरूमा रहेको म्याद, हदम्याद र तारेख नगुज्रने अदालतको सूचनामा उल्लेख छ ।

अदालतले आन्तरिक परिस्थिति र कोरोना सङ्क्रमण मूल्याङ्कन गरेर मात्र सेवासम्बन्धी अर्को निर्णय हुने पनि जनाएको छ । यसअघि सर्वोच्च अदालतले दिने सेवामा बुधबारदेखि लागू हुने गरी कटौती गरिएको थियो । यद्यपि, मौलिक हकसँग सम्बन्धित, जनस्वास्थ्यसँग सम्बन्धित र बन्दीका रिटहरूमा सुनुवाइ हुनेछ। गोरखापत्र

प्रकाशित: ६ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...