
काठमाडौं ।
नेपाल टेलिकमले पछिल्लो तीन वर्षको अवधिमा वायरलेस सेवाअन्तरगत फोरजी सेवाको बिस्तार गर्नका लागि राखिने टावर वा साइट स्थापनामा ९०० प्रतिशतको प्रगति हासिल गरेको देखिएको छ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकममा तत्कालिन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकालमा सन् २०१८ को तुलनामा गत डिसेम्बरसम्म फोरजी पूर्वाधारको स्थापनाको लागि ९०० प्रतिशत थप नयाँ साइटहरु तयार पारेको देखिएको छ।
टेक्नोलोजीखबरलाई प्राप्त तथ्यांकअनुसार त कम्पनीले ३ वर्षको अवधिमा ३ हजार ४०८ भन्दा धेरै फोरजी साइटहरु थप गर्न सफल भएको छ ।
नेपाल टेलिकमले फोरजी सेवाको बिस्तारलाई तिब्रता दिईरहेको सन्दर्भमा कम्पनीले २०२१ डिसेम्बरसम्म ३ हजार ७९२ ओटा साइटहरु फोरजी सेवाको लागि मात्र निर्माण गरेको हो।
यस बाहेक कम्पनीले थ्रीजी र टूजीमा पनि प्रगति गरेको देखिन्छ। सो अवधिमा नेपाल टेलिकमले थ्रीजी साइटहरुको संख्या ३ हजार १४१ ओटा पुर्याएको छ जसमा तीनवर्षको अवधिको तुलनामा २४ प्रतिशतको वृद्धि भएको देखिन्छ।
त्यसैगरी टूजी साइटहरुमध्ये डिसेम्बरको अन्त्यसम्ममा ३ हजार ८४८ ओटा रहेका छन र यसमा पनि २९ प्रतिशतको वृद्धि भएको देखिएको छ ।
कम्पनीले अगस्ट २०१८ देखि २०२१ को अवधिमा ४५४ सोलार प्रविधिसहितको साइट तयार पारेको छ जुन सो अगाडिको तुलनामा १२५ ओटा थप भएको देखिन्छ।
नेपाल टेलिकमसँग समग्रमा पूर्वाधारतर्फ ४ हजार २१२ ओटा साइटहरु स्थापना गरेर संचालनमा रहेको तथ्यांकमा उल्लेख छ, जुन सन् २०१८ अगस्टको तुलनामा ३० प्रतिशतले वृद्धि भएको देखिन्छ।
सो अवधिमा कम्पनीले १ हजार भन्दा धेरै नयाँ टावरहरु स्थापना गर्न सफल भएको तथ्यांकमा भनिएको छ।
प्रकाशित: ५ माघ २०७८, बुधबार