माइक्रोसफ्टद्वारा गेम कम्पनी एक्टिभिजन ब्लिजार्डलाई ६८.७ अर्ब डलरमा अधिग्रहण

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार
माइक्रोसफ्टद्वारा गेम कम्पनी एक्टिभिजन ब्लिजार्डलाई ६८.७ अर्ब डलरमा अधिग्रहण

काठमाडौं ।

माइक्रोसफ्ट कर्पले मंगलबार भिडियो गेम प्रकाशक एक्टिभिजन ब्लिजार्ड किन्ने घोषणा गरेको छ। सफ्टवेयर जायन्ट कम्पनी माइक्रोसफ्टले एक्टिभिजनलाई ६८.७ अर्ब अमेरिकी डलर मूल्यमा पूर्णरुपमा नगदमा खरिद गर्ने बताएको हो।

यसका साथमा यो क्षेत्रको सबैभन्दा ठूलो सम्झौता भएको रोयटर्सले जनाएको छ।

माइक्रोसफ्टले प्रति सेयर ९५ अमेरिकी डलर शेयर मूल्यमा कम्पनीलाई किन्ने अफर गरेको हो । जुन गत शुक्रबार बन्द भएको एक्टिभिजनको शेयर मूल्यभन्दा ४५ प्रतिशत प्रिमियममा हो।

एक्टिभिजन ब्लिजार्डका सीईओ बबी कोटिकले करिब १०,००० मानिसहरूलाई रोजगार दिने उनको कम्पनीमा चलिरहेको एसईसी अनुसन्धान र यौन उत्पीडन स्क्यान्डलहरूको बीचमा राजीनामा गर्ने अफवाह फैलिएको छ। उनलाई सो विषय जानकारी भएपनि कुनै एक्सन नलिएको आरोप छ।

यद्यपि यो अधिग्रहणको साथ, माइक्रोसफ्टले कोटिकले आफ्नो काम जारी राख्ने बताएकोछ। समग्रमा, एक्टिभिजन ब्लिजार्डले माइक्रोसफ्ट गेमिङ्ग सिईओ फिल स्पेन्सरलाई रिपोर्ट गर्ने टेकक्रन्चले उल्लेख गरेको छ।

यस सम्झौताले माइक्रोसफ्टलाई टेन्सेन्ट र सोनीलाई पछि पार्दै, राजस्वको आधारमा विश्वको तेस्रो ठूलो गेमिङ कम्पनी बनाउने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ। एक्टिभिजन ब्लिजार्ड वर्ड अफ वारक्राफ्ट, कल अफ ड्यूटी र क्याण्डी क्रस जस्ता मेगा फ्रेन्चाइजीहरूको घर हो, जबकि माइक्रोसफ्ट गेमिङ्गले एक्सबक्स कन्सोलहरू उत्पादन गर्छ। माइक्रोसफ्टले आफ्नो क्लाउड गेमिङ सदस्यता गेम पासमा एक्टिभिजन ब्लिजार्ड गेमहरू समावेश गर्ने बताएको छ, जसमा हालसालै २करोड ५० लाख सदस्यहरू पुगेको छ।

यो अधिग्रहण २०२३ मा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार