काठमाडौं ।
देशको विभिन्न ठाउँमा सवारी अनुमतिपत्रका लागि अनलाईन फारम भर्दा परीक्षाका लागि दुई वर्षभन्दा बढि समय लाग्ने गरेकोमा उदयपुरमा भने चार पाङ्ग्रे सवारी साधन र स्कुटरको भोलिपल्ट नै पालो आउने गरेको छ ।
उदयपुर स्थित यातायात व्यवस्था सेवा कार्यालय गाईघाटमा साना चारपाङ्ग्रे सवारी साधन र स्कुटरको सवारी अनुमतिपत्र, अनलाईन फारम भरेको भोली पल्ट नै परीक्षा हुने गरेको कार्यालय प्रमुख सुवास कार्कीले बताए।
यहाँ सेवा भर्खरै सुरू भएकोले कतिपयले थाहा नपाएर अनलाईन फारम भर्नेको चाप कम रहेको छ। जसका कारण छिटो पालो आएको उनले बताए । सङ्ख्यात्मक रूपमा मोटरसाइकलका लागि फारम भर्नेको सङ्ख्या बढि रहेकोले दुई महिनासम्म लाग्ने गरेको छ।
“चारपाङ्ग्रे र स्कुटरको अनलाईन फारम भरेको भोलिपल्ट नै पालो हुन्छ,” कार्यालय प्रमुख कार्कीले भने, “मोटरसाइकलको भने विस्तारै समय लम्बिदै गएको छ । अहिले मोटरसाइकलको दुई महिना लाग्न थालेको छ ।”
सुनसरी, काठमाडौँलगायतका अन्य जिल्लाहरूमा कम्तिमा दुई वर्षसम्म लाग्ने कुरो उदयपुरमा छिटो हुने भएपछि टाढा–टाढाबाट समेत आउने गरेका छन् । गत कात्तिक २८ देखि कार्यालयले उदयपुरमा सुरू गरेको सवारी अनुमतिपत्रको परीक्षा प्रक्रियाले सर्वसाधारणलाई प्रभावकारी सेवा दिइरहेको छ।
कार्यालयका सूचना अधिकारी सुवास अधिकारीका अनुसार दुई महिनाको अवधिमा एक हजार ५८३ जनाले सवारी अनुमतिपत्र (लाईसेन्स) पाएका छन् ।
सबैभन्दा बढि मोटरसाइकलको एक हजार १११ जना, स्कुटरको २८४ जना, तीन पाङ्ग्रे टेम्पो तथा अटो रिक्साको १७ जना र ठूलो सवारी साधनको चार जनाले परीक्षा पास गरेका छन् । उनीहरूलाई कार्यालयले सवारी अनुमति पत्र प्रदान गरिसकेको छ । चार हजार ३९६ जना परीक्षामा सामेल भएकोमा ३११ जना अनुपस्थित र दुई हजार ५०६ जना अनुतीर्ण भएका छन् । लिखित परीक्षामा अनुतीर्ण भएकाले तीन महिनापछि पुनः फारम भरेर सामेल हुन पाउने प्रावधान छ भने प्रयोगात्मकमा अनुतीर्ण हुनेले लगत्तै १० दिनको अन्तरालमा तीन पटकसम्म पुनःपरीक्षा दिन पाउने प्रावधान रहेको छ ।
उदयपुरे जनताको माग र लामो प्रयासपछि सुरू भएको यो सेवाले उदयपुर र आसपासका जिल्ला मात्र नभई देशको विभिन्न ठाउँका सर्वसाधारणलाई सेवा मिलेको छ। गोरखापत्र
प्रकाशित: ४ माघ २०७८, मंगलवार