
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपालमा जम्मा ४७ ओटा बीटीएस (बेस स्टेशन) तथा त्यसमा प्रयोग हुने उपकरणहरु आयात भएका छन्।
गत आर्थिक वर्षभरीमा भने नेपालमा १ लाख ५३ हजार ७३ ओटा उपकरणहरु आयात भएका थिए।
नेपाल राष्ट्र बैंकले हालै अद्यावधिक गरेको पाँच महिनाको प्रतिवेदन अनुसार नेपालमा ४७ ओटा बीटीएस तथा त्यससँग सम्बन्धित उपकरण ल्याउनका लागि ३७ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ।
गत वर्षभरीको १२ महिनामा ३० करोड ८ लाख ९ हजार रुपैयाँ बराबरका उपकरण आयात भएकामा त्यसको तुलनामा यो पाँच महिनामा भएको आयातको रकम निकै कम देखिन्छ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा निकै कम आयात
यसैगरी गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधि अर्थात् श्रावणदेखि मंसिर मसान्तसम्मको अवधिमा नेपालमा जम्मा १५ करोड २० लाख २ हजार रुपैयाँ बराबरका ७७ हजार १० थान बीटीएस उपकरण आयात भएकामा यस वर्षको शुरुवाती पाँच महिनामा भने जम्मा ३७ लाख ७१ हजार रुपैयाँ बराबरको ४७ थान मात्र आयात भएको प्रतिवेदन छ।
तुलनात्मक हिसाबले हेर्दा गत आर्थिक वर्षको शुरुवाती पाँच महिनामा आयात भएका बीटीएस टावरहरुको सङ्ख्या तथा रकममा झन्डै ९० प्रतिशतभन्दामाथिको अन्तर रहेको पाइएको छ।
यस वर्ष आयात भएकामध्ये ४७ चीनबाट २३ लाख २६ हजार रुपैयाँ बराबरको २३ थान, भारतबाट ४ लाख २२ हजार रुपैयाँ बराबरको १७ थान तथा अस्ट्रेलियाबाट १० लाख २३ हजार बराबरको ७ थान भित्रिएका छन्।
के हो बीटीएस टावर?
बेस स्टेशनका नामले पनि चिनिने बीटीएसको पूरा रुप बेस ट्रान्सिभर स्टेशन हो। दूरसञ्चार क्षेत्रभित्रको मोबाइल सञ्चारमा बीटीएस टावरले तरंगहरु पठाउने र पाउने हिसाबले रेडियो ट्रान्सिभरहरुलाई बोक्ने गर्छन्। यिनै ट्रान्सिभरहरुले हावामा तरंगित रेडियो लिंक प्रोटोकललाई हाम्रा मोबाइलसम्म पुर्याएर मोबाइल मार्फत् हुने कुराकारी सफल हुन भद्दत गर्दछन्।
बीटीएस टावरलाई सामान्य भाषामा मोबाइल टावरका रुपमा चिनिन्छ। हामीले विभिन्न ठाउँमा अग्ला डाँडा वा भवनको छतमा देख्ने अधिकांश टावरहरु बीटीएस टावर नै हुन्।
किन आउँछन् बीटीएस उपकरण?
दूरसञ्चार क्षेत्रमध्येको मोबाइल सञ्चारको मुख्य मेरुदन्ड भनेको एक ठाउँबाट पठाइएको सन्देशलाई अर्को ठाउँमा रहेको मोबाइलसम्म पुर्याउने उकपकरण नै हुन्। यिनै उपकरणलाई अड्याउनका लागि निर्माण गरिने संरचना नै बीटीएस टावर हुन्।
यस हिसाबले नेपालमा पनि दूरसञ्चार सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको र देशभरका अधिकांश ठाउँका मानिसहरुले मोबाइल फोनको प्रयोग गरिरहँदा सेवा प्रदायकहरुले आफ्ना सेवा दुर्गम ठाउँहरुसम्म विस्तार गर्दै जानुपर्ने हुन्छ।
यसरी शहरमा मात्र केन्द्रित नभइ गाउँगाउँसम्म मोबाइल सिग्नल पुर्याउनका लागि मोबाइल सेवा प्रदायकहरुले यस्ता बीटीएस उपकरणहरु विश्वका विभिन्न देशहरुबाट आयात गर्ने गर्दछन्।
नेपालमा दूरसञ्चारका क्षेत्रमा ह्वावे, जेडटीईजस्ता चिनियाँ कम्पनीका पूर्वाधारहरु धेरै प्रयोग हुने भएकाले पनि चीनबाट यस्ता उपकरण बढीभन्दा बढी आयात भएको आकलन गर्न सकिन्छ।
त्यसैगरी देशभर फोरजी सेवाको बिस्तारका लागि टेलिकम अपरेटरहरु सशक्त भएर लागिरहेको र नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिको परीक्षणका लागि पनि मार्ग प्रशस्त गरेको बेला बीटीएस टावर लगायत मोबाइल प्रविधिसँग सम्बन्धित थुप्रै प्रकारका उपकरणहरु निरन्तर रुपमा आयात भइरहन सक्छन्।
प्रकाशित: ११ पुष २०७८, आईतवार