
काठमाडौं ।
चीनको साइबर नियामकले नक्कली एकाउन्ट र सूचनालाई रोक्नको लागि देशमा सामाजिक सञ्जाल र भिडियो सेयरिङ साइटहरू जस्ता अनलाइन प्लेटफर्महरूको अनुसन्धान गरिने जनाएको छ।
चीनको साइबरस्पेस एडमिनिस्ट्रेशन (सीएसी) ले भ्रामक अनलाइन व्यवहारलाई लक्षित गर्न दुई महिनाको विशेष अभियान सुरु गर्ने बताएको छ।
विगतमा चिनियाँ नियामकले सबै क्षेत्रमा कारबाही गरेको छ। प्रविधि, घरजग्गा, गेमिङ, शिक्षा, क्रिप्टोकरेन्सी र वित्त क्षेत्रमा काम गर्ने कम्पनीहरूमा अनुगमनलाई कडाइ गरिएको छ।
रोयटर्सका अनुसार सीएसीले बुधबार भिडियो कन्फ्रेन्स गरेको थियो। जसमा चीनका प्रदेश र नगरपालिकाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सीएसीले बिहीबार आफ्नो वेबसाइटमा सो जानकारी दिएको हो।
विज्ञप्तिमा भनिएको छ कि वर्तमानमा बढाईचढाई गरिएको अनलाइन ट्राफिक, दुर्भावनापूर्ण जनसम्पर्क र टिप्पणीहरूले नेटिजनहरूको वैध अधिकार र हितलाई हानी पुर्याउँछ। सीएसीको अभियानमा अन्तिम लडाईको उद्देश्य भनेको इन्टरनेट सफा गर्नु हो।
यस वर्ष सञ्चालित केही अभियानहरूको बारेमा कुरा गर्दा, सेलिब्रेटीहरूका फ्यानहरू र इन्टरनेट प्रयोगकर्ताहरूलाई लक्षित गरिएको छ।
यद्यपि, बिहीबारको विज्ञप्तिमा कुनै पनि कम्पनी वा व्यक्तिको नाम उल्लेख गरिएको छैन। तर यो अभियानको केन्द्रमा चलचित्र र पुस्तक समीक्षा, छोटो भिडियो र सामाजिक सञ्जाल जस्ता कार्यहरू ह्यान्डल गर्ने प्लेटफर्महरू हुनेछन्। अर्थात् उनीहरुसँग सम्बन्धित कम्पनीलाई कारबाही गर्न सकिनेछ।
चिनियाँ प्रयोगकर्ताहरूले फिल्महरू समीक्षा गर्न प्रयोग गर्ने प्लेटफर्म दूबान र माइक्रो-ब्लगिङ साइट वेबोलाई यस महिना अवैध सामग्रीको लागि सीएसीद्वारा जरिवाना गरिएको थियो। दूबान लाई १५ लाख युआन जरिवाना गरिएको छ। साथै, वेबोलाई ३० लाख युआन जरिवाना गरिएको छ ।
वेबोले नाबालिगहरूको सुरक्षा र अन्य कानूनहरूमा साइबर सुरक्षा कानूनको उल्लङ्घन गरेको सीएसीले बताएको थियो। वेबोले नियामकको यो कार्यलाई स्वीकार गर्ने र लगाइएको जरिवानाका लागि कार्यसमूह पनि गठन गरेको बताएको छ।
चीनको स्टेट काउन्सिलले सेप्टेम्बरमा ‘सभ्य’ इन्टरनेट निर्माणका लागि दिशानिर्देश प्रकाशित गरेको थियो। सत्तारुढ कम्युनिष्ट पार्टी र यसका उपलब्धिको प्रचारप्रसारका लागि इन्टरनेटको प्रयोग गर्नुपर्ने उनीहरुको भनाइ छ।
प्रकाशित: ९ पुष २०७८, शुक्रबार