
काठमाडौं ।
छोटो समयमा ख्याति कमाउन सफल भिडियो शेयरिङ एप टिकटकले केही देशहरुमा फुल एचडी अर्थात् १०८० पिक्सेल रेजोल्युशनका भिडियो अपलोड गर्न पाउने बनाएको छ।
टिकटकले हालै आफ्नो मोबाइल एपमा परिवर्तन गर्न लागेको र भिडियोको इफेक्ट र रेजोल्युशनमा पनि सुधार हुने बताएको थियो।
उक्त घोषणा अनुसारको एउटा मुख्य परिवर्तनमा कही निश्चित देशहरुमा १०८० पिक्सेलको भिडियो अपलोड गर्न पाउने सुविधा हो।
भिडियो अपलोड गर्दा मोर अप्शनमा गएर अपलोड एचडी सेलेक्ट गरेपछि १०८०पी को भिडियो अपलोड गर्न सकिने बताइएको छ।
कम्पनीले हाल जीआईएफका साथसाथै ग्रीन स्क्रीन इफेक्ट प्रयोग गर्न दिइरहेको छ। प्रयोगकर्ताले टिकटकको साझेदार जिफीबाट मन परेका जीआईएफ छानेर त्यसमा ग्रीन स्क्रीन इफेक्टका माध्यमबाट आफ्ना भिडियो ओभरले गर्न सक्दछन्।
नयाँ भिजुअल एन्हान्समेन्ट फिचरले एक पटक ट्याप गरेको भरमा भिडियोको गुणस्तर बढाउन सकिनेछ।
यस्तै भ्वाइस इफेक्टले भिडियोमा भएको कुनै पनि अडियोलाई जनावर वा वाद्यवादनका यन्त्रबाट निस्केको आवाजजस्तो बनाउन मद्दत गर्दछ। यसका लागि एडिटिङ पेजमा गएर दायाँपट्टि रहेको भ्वाइस इफेक्ट्स फिचर क्लिक गर्नुपर्ने जीएमएसएरेनले जनाएको छ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार