
काठमाडौं ।
पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा ६ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन भइरहेको छ।
अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई निरन्तर सञ्चालनमा ल्याउने योजना बनाइने सडक विभागले जनाएको छ। उपआयोजनाद्वारा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत सडकखण्डमा व्यवस्थित गरिएको प्रविधिको राजमार्ग प्रवेशस्थल धुलिखेलमा राखिएको डिजिटल सूचना बोर्डमासमेत मौसमअनुसारको सूचना अद्यावधिक गर्नसकेको थिएन।
विभागको इञ्जिनियर गीताञ्जली कोइरालाकाकाअनुसार आयोजनाले राजमार्गको तत्कालिक अवस्थाबारे जानकारी दिने उद्देश्यले धुलिखेललगायतका स्थानमा बोर्ड राखिएको थियो। सडक विभागले उक्त राजमार्गको आकस्मिक सूचना प्रणाली प्रविधिलाई निरन्तरता दिन नसकेको जनाएको छ।
उनकाअनुसार उक्त प्रविधिलाई पूर्णता दिइ सञ्चालनमा ल्याउन अध्ययन भइरहेको छ।
लामो समयदेखि अध्ययन गरेको उक्त टिमसँग विभागले प्रतिवेदनको ताकेता गरिरहेको छ।
विभागका उपमहानिर्देशक एवं वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरि पोखरेलका अनुसार हाल सडक बिस्तारका क्रममा अरनिको राजमार्ग प्रवेश क्षेत्र कोटेश्वरमा समेत सूचना बोर्डको पुनःनिर्माण हुनेछ । उक्त सडकको यात्रा सहज बनाउन आकस्मिक सूचना प्रविधियुक्त राजमार्ग बनाउन लागिएको थियो । आउने वर्षाको मौसमसम्म प्राणाली व्यवस्थित भइसक्ने बताइएको छ ।
राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी ६ वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधारलगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको थियो। यतिमात्र होइन, वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तयगर्न सकिने योजनासमेत बनाइएको थियो।
एन्ड्रोइडमा आधारित मोबाइल एप्लिकेशनसहित वेबसाइट र इआइएसलाई इञ्जिनीयरिङ सफ्टवेयर कम्पनी सफ्टवेल प्रालिले ‘प्रणाली’समेत तयार पारिसकेको जनाइएको थियो । यो मार्गलाई नेपालकै नमूना बनाउन यस्तो प्रणालीको विकास गरिएको आयोजनाले जनाउँदै आएको छ।
यस प्रणालीअन्तर्गत चार केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तररुपमा वर्षात्को मापन गरेर सडक विभागस्थित डाटा सेन्टरमा सूचना पठाउँछ ।
उक्त प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरण जिपीआरएस् मोडेलमार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ । यी विवरण एलइडी डिस्प्लेयुक्त बोर्डमा नेपाली र अङ्गे्रजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । २४ सै घण्टा विवरण अपडेटमा विद्युत्भार कटौतीले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार)मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको थियो ।
उक्त प्रणालीमार्फत बिपी राजमार्ग सडकको अवस्थाबारे तत्काल यात्रुलगायत सरोकारवालाले जानकारी पाउनसके सहज हुने अपेक्षा गरिँदै आइएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार