
काठमाडौं ।
आगामी एक हप्ताभित्र १७ वटा विद्युतीय बस काठमाडौँ आइपुग्ने भएका छन् । विद्युुतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले चीनमा खरिद गरेका १७ वटा बस अहिले सुनौली भन्सार ल्याइपुर्याइएको छ।
कोरोना महामारीका कारण यी बस बन्दरगाहमा रोकिएका थिए ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, “१७ वटा बस सुनौली भन्सारमा ल्याएका छौँ । भन्सार शुल्क, परीक्षण प्रतिवेदन, यातायात व्यवस्था विभागका पत्रलगायतका भन्सारका काम भइरहेको छ, बढीमा एक हप्ताभित्र बसहरू काठमाडौँ ल्याउँछौँ ।”
४० सिटका ती बसहरू काठमाडौँमा सञ्चालन गरिनेछ। १७ वटामध्ये चारवटा बस बुटवल भैरहवामा सञ्चालन गरिने प्रालिले जनाएको छ।
यातायातले विगत दुई वर्षदेखि चारवटा बस सञ्चालन गरिरहेको छ।सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले ५० करोड रुपियाँ लगानीमा बसहरू खरिद गरिरहेको छ।
काठमाडौँ उपत्यकाबाहिरका प्रमुख सहरहरू बुटवल, विराटनगर, नारायणगढ, नेपालगञ्जमा पनि सञ्चालन गरिने अध्यक्ष थापाले जानकारी दिए।
सुन्दर यातायातले थप १० वटा सार्वजनिक बस ल्याउँदै छ।
साझा यातायातले चालू आर्थिक वर्षभित्रै ४० वटा विद्युतीय बस ल्याउँदै छ । ४० बसमध्ये तीनवटा चार महिनामा चीनबाट नेपाल ल्याइने साझाले जनाएको छ । तीनवटाको परीक्षणपश्चात् बाँकी बस निर्माण गरिनेछ ।
साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले भने “४० वटा बस चालू आर्थिक वर्षभित्रै सञ्चालन गर्न सकिन्छ।”
साझाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस चीनबाट ल्याउन लागेको हो । गोरखापत्रबाट
प्रकाशित: २५ मंसिर २०७८, शनिबार