
काठमाडौं ।
नेपाल टेलिकमको सहायक कम्पनीले ल्याएको नमस्ते पेको प्रबद्र्धनमा कम्पनीले १८ लाख रुपैयाँ खर्च गरेको छ।
औपचारिकरुपमा सेवा शुरु भएको भनिएपनि व्यावसायीकरुपमा अझै परिक्षणको क्रममा नै रहेको नमस्ते पे को लागि चालु आवको पहिलो त्रैमासमा कम्पनीले १८ लाख ३४ हजार रुपैयाँ खर्च गरेको हो।
आज सार्वजनिक गरिएको नेपाल टेलिकमको पहिलो त्रैमासको वित्तीय बिबरणअनुसार नेपाल टेलिकमको समूहतर्फ प्रचार प्रसार तथा बजारीकरण शिर्षकमा ५ करोड ५८ लाख रुपैयाँ खर्च गरेको देखिएको छ।
तर नेपाल टेलिकमले सो शिर्षकअन्तरगत सो अवधिमा केवल ४ करोड ८७ लाख ४६ हजार रुपैयाँ खर्च गरेको छ भने बाँकी रकम १८ लाख ३४ हजार सहायक कम्पनी नेपाल डिजिटल पेमेन्टस कम्पनी लिमिटेडले खर्च गरेको देखिएको हो।
व्यावसायिक सेवा शुरु नै नभएको, कुनै प्रचार प्रसार तथा विज्ञापन लगायतका कार्यहरु नै नगरिएको अवस्थामा कम्पनीले कसरी सेल्स च्यानल, मार्केटिङ एण्ड प्रमोसन कस्ट शिर्षकमा रकम खर्च गर्यो भन्ने प्रश्न उब्जिएको छ।
यसैबिच टेलिकमको सहायक कम्पनीले केहि आम्दानी समेत गरेको देखिएको छ। जसअनुसार कम्पनीले पहिलो त्रैमासमा ५१ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ। जसमध्ये ग्राहकबाट हुने आम्दानी ६८ हजार रुपैयाँ गरेको छ भने बाँकी आम्दानी बैंकमा राखिएको रकमको ब्याजबाट गरेको देखिन्छ जसलाई अन्य आम्दानी शिर्षकमा बाँधिने गरिन्छ।
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार