
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को भद्रकाली प्लाजामा रहेको मुख्यालय। फाइल तस्बिर
काठमाडौं ।
नेपाल टेलिकमको संचालन आम्दानीमा सुधार भएको छ । कम्पनीले चालु आ व को प्रथम त्रैमासिक अवधिमा ९ अर्व ६७ करोड ७३ लाख ३८ हजार रहेको आर्जन गर्न सफल भएको छ।
कम्पनीले आज प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको आम्दानीमा गत वर्षको तुलनामा करिब १२.१६ प्रतिशतले बढेको देखिएको छ।
गत आव को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय रु ८ अर्व ६२ करोड ८४ लाख ३४ हजार रहेकोमा चालु आ वको सोहि अवधिमा रु १ अर्व ४ करोड ८९ लाख ४ हजार(अर्थात, १२.१६ प्रतिशत) ले वृद्धि भई रु ९ अर्व ६७ करोड ७३ लाख ३८ हजार भएको हो।
गत आवको प्रथम त्रैमासिक (२०७७ आश्विन मसान्त)को अन्तिम लेखापरीक्षण पश्चातको कुल आय रु. १० अर्व १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा कुल आय रु. ८४ करोड ७८ लाख ७१ हजार (अर्थात् ८.३९ प्रतिशत ) ले वृद्धि भई रु. १० अर्व ९५ करोड २३ लाख ४६ हजार रहेको छ।
गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा खुद मुनाफा रु १ अर्व ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ आश्विन मसान्त) मा रु. ७४ करोड २१ लाख ३४ हजार(अर्थात ४८.९० प्रतिशत) ले वृद्धि भई रु २ अर्व २५ करोड ९९ लाख ४ हजार रहेको छ ।
गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा EBITDA रु ३ अर्व ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आ.व. को सोहि अवधिमा रु ८४ करोड ४९ लाख ५७ हजार(अर्थात २१.२८ प्रतिशत)ले वृद्धि भई EBITDA रु ४ अर्व ८१ करोड ५४ लाख ४८ हजार रहेको देखिएको छ।।
गत आ.व.को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेको नेपाल टेलिकमले जनाएको छ।
- फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज बिस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुनगई मोवाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य बृद्दि हुन गएको। यसै गरी टूजी/थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टूजी/थ्रीजी/फोरजी सेवाको पहुँच बिस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको हो। कम्पनीको एफटीटीएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएच मार्फत बितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटिभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको हो।
- मुलुक तथा विश्वव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड १९को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केहि सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको छ।
- कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेता पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरु प्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोहि कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको छ।
- कोभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षाहरु, सामाजिक नेटवर्किङ्ग,इन्टरनेटमा आधारित मनोरन्जन, आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत आ.व. को प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आ.व. को सोहि अवधिमा सुधार आई क्रमशः करिव ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको बताएको छ।
प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार