
काठमाडौं ।
महानगरीय अपराध महाशाखाले अनलाइनमार्फत् ठगी गर्ने एक व्यक्तिलाई शुक्रबार काठमाडाैंबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम जिल्लाको रन्मामैमकोट गाउँपालिका-३ घर भएर हाल काठमाडौंको नेपालटारमा बस्दै आएका वर्ष २३ का विकास गुरुङ रहेका प्रहरीले जनाएको छ।
पक्राउ परेका गुरुङले ह्वाट्सएप प्रयोगकर्ताहरुको मोबाइलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ, विदेशबाट सामान/पार्सल आएको छ भन्दै उक्त सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नुपर्ने झूटो बहाना बनाएर कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगी गर्ने गरेको खुलेको छ।
यस्तै गतिविधि भइरहेको भन्ने गोप्य सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति यही कार्तिक २६ गते शुक्रबार दिउँसो काठमाण्डौको गैरीधाराबाट ठगी गरेको रकमसहित पक्राउ गरेको हो।
ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित पक्राउ परेका गुरुङलाई हाल थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।
प्रकाशित: २९ कार्तिक २०७८, सोमबार