पर्सिभेरन्स रोभरले रहस्यमय मंगल ग्रहको चट्टानमा भेट्यो हालसम्मकै नयाँ जानकारी

  • Technology Khabar | २६ कार्तिक २०७८, शुक्रबार
पर्सिभेरन्स रोभरले रहस्यमय मंगल ग्रहको चट्टानमा भेट्यो हालसम्मकै नयाँ जानकारी

काठमाडौं ।

मंगल ग्रहमा अनुसन्धानका क्रममा रहेको नासाको पर्सिभेरन्स रोभरले जजेरो क्रेटरमा रहेको रहस्यमय चट्टानको अनुसन्धान शुरु गरेको छ।

अक्टोबरमा सोलर कन्जंक्शन चलिरहँदा केही समयका लागि कामबाट फुर्सद पाएको रोभरले उक्त कन्जंक्शनको समय सकिएपछि पुन: काममा फर्किएको हो ।

सोलर कन्जंक्शन यस्तो अवस्था हो जब सूर्य पृथ्वी र मंगल ग्रहको बीचमा आउँछ। यो अवस्था गत अक्टोबर २ मा शुरु भएको थियो र यसका कारण नासा र रोभरबीचको संवाल टुटेको थियो।

यो स्थिति अक्टोबर १० मा समाप्त हुनेबित्तिकै रोभरले मंगल ग्रहमा जीवनको अवशेषको खोजीकार्य पुन: अगाडि बढाएको थियो।

यस्तो पत्रे चट्टान प्राय पानीमा बन्ने र यसमा त्यतिबेलाको वातावरण कस्तो थियो भन्ने बारेमा केही जानकारी लुकेको हुनसक्ने नासाको आकलन छ।

उक्त चट्टानको अध्ययन गरेर रोभरले माथिल्लो पत्रभन्दा भित्र कस्तो रहेको छ भन्ने देखाउन थुप्रै फोटोहरु पठाएको थियो। झट्ट हेर्दा यसमा थुप्रै खनिज तथा सेडिमेन्टहरु रहेको देखिन्छ।

‘आजसम्म कसैले नदेखेको चिज हेर्नका लागि भित्र चियाउँदै। मैले सतह हटाउन र त्यसको तल के छ भनेर हेर्नका लागि यो चट्टानको सानो टुक्रा निकालेको छु। म #स्याम्प्लिङमार्स का लागि अर्को लक्ष्य भेट्ने अगाडि बढिरहेको छु’, पर्सिभेरन्सको फेसबुक पोस्टमा लेखिएको छ।

३.७ अर्ब वर्षअघि तालका रुपमा रहेको जजेरो क्रेटरको चट्टानमा रहेको खनिज पाैराणिक कालको कुनै क्याप्सुलजस्तै देखिने नासाले जनाएको छ।

तिनीहरुमार्फत् वैज्ञानिकहरुले कसरी चट्टान निर्माण भए त्यसबेलाको वातावरण कस्तो थियो भन्नेबारेमा थाहा पाउन सक्नेछन्।

यसले उक्त ताल र त्यसपछि बनेको उच्च समस्थली कस्ता थिए साथै उक्त ग्रह बस्नका लागि उपयुक्त हावापानीसहितको थियो वा थिएन भन्ने बारेमा थाहा पाउन सकिने बताइएको छ।

प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...