
काठमाडौं ।
चीन सरकारले बुधबार टेन्सेन्टलगायतका विभिन्न कम्पनीका ३८ ओटा एपलाई यूजरका व्यक्तिगत विवरण अत्यधिक रुपमा संकलन गरिरहेकोमा त्यस कार्यमा सुधार ल्याउन निर्देशन दिएको छ।
उक्त निर्देशन चीनको नियामक संस्थाले पछिल्ला दिनमा प्रविधि लगायतका विभिन्न क्षेत्रमा गरिरहेको कडाइकै निरन्तरताका रुपमा आएको बुझिएको छ।
चीनले पछिल्लो समय पीआईपीएल अर्थात् पर्सनल इन्फर्मेशन प्रोटेक्शन ल को मातहतमा रहेर विभिन्न क्षेत्रमा अनलाइन गोपनीयता कायम गराउन प्रयास गर्दै आइरहेको छ।
हालै सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा विज्ञप्तिमा चीनको नियामकका रुपमा रहेको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले ती एपहरुले अनावश्यक व्यक्तिगत विवरण संकलन गरेको आरोप लगाएको छ।
मन्त्रालयले ती एपहरुलाई नोभेम्बर ९ सम्ममा आफ्नो बानीमा सुधार ल्याइनसके प्रशासनिक सजाय भोग्न तयार रहन पनि भनेको छ।
यो सूचीमा समाविष्टमध्ये एउटा समाचारसँग सम्बन्धित तथा अर्को टेन्सेन्टको संगीतसँग सम्बन्धित एपसमेत रहेका छन्। यसबाहेक अर्को एउटा सोन्दर्यसँग सम्बन्धित सामाजिक सञ्जाल श्याओहोङ्शु रहेको छ।
प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार