स्टार्टअप्सको प्रबर्द्धन गर्न परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

  • Technology Khabar | १५ कार्तिक २०७८, सोमबार
स्टार्टअप्सको प्रबर्द्धन गर्न परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

काठमाडौं ।

नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्टअप्स अभियान समिति गठन गरेको छ।

युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता रहेका छन्।

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको छ। समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रबर्द्धनको काम गर्ने बताईएको छ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यको काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको भन्दै नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे।

“अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समितिमार्फत मेन्टरसिपको काम गर्न सकिन्छ,” उनले भने, “सरकारले ५ वटासम्म स्टार्टअप्सलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमा पनि यस समितिले काम गर्न सक्छ।”

यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले यस समितिमार्फत व्यवसायमा आएका नयाँ नयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताए ।

समितिकी सभापति आयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्द भएको बताउँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गरिन्। उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच यस समितिको रहेको जानकारी गराईन् ।

समितिको सहसभापतिमा चाङ अग्रवाल रहेका छन्। यसैगरी समितिको सदस्यहरुमा सागरदेव भट्ट, अमुन थापा, रुपेशकृष्ण श्रेष्ठ, मनिष श्रेष्ठ, प्राची अग्रवाल, तेजिङ गोन्सर, डा मनिष थापा, लतिका गोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरान अली रहेको परिसंघले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार